Erani Mahal
सिद्धबाबाको वैकल्पिक सडक:२० करोड सकियो, काम अझै अलपत्र
sadak-jhumsa.jpg-1024x598
पाल्पा – सिद्धबाबा सडक खण्डको विकल्पको रुपमा निर्माण थालिएको झुम्सा–चरङ्गे सडक खण्ड पाँच वर्षदेखि अलपत्र परेको छ । निर्माण कार्य सुरु गरेको पाँच वर्षसम्म यसले गति लिन नसक्दा योजना नै अलपत्र परेको हो । यो सडकका लागि प्रदेश सरकारले सुरुदेखि नै बजेट छुट्टयाएपनि कामलाई तीव्रता दिन नसक्दा लामो समयसम्म सडक अलपत्र परेको हो । जिल्ला समन्वय समितिको स्थानीय स्रोत र साधन प्रयोग गरेर ट्रयाक खोलिएको सडकलाई लुम्बिनी प्रदेश सरकारले सिद्धबाबा सडकको वैकल्पिक मार्गको रुपमा प्रयोग गर्न करोडौं रकम खर्चिएको छ । २०७५ सालमै प्रदेश सरकारले यो सडकका लागि १० करोड रुपियाँ छुट्टयाएको थियो । त्यस्तै पाल्पाका सबै स्थानीय तहले पाँचदेखि ३० लाख रुपियाँसम्म बिनियोजन गरेको थियो । जिल्ला समन्वय समिति पाल्पाले ट्रायाक खोल्ने बेलामा नै एक करोड छुट्टयाएको थियो । चुरे क्षेत्रको संभाव्यता अध्ययनबिना सडक खन्दा, बजेट कम बिनियोजन हुँदा र चुरेमा सडक बनाउने तरिका नमिल्दा पाँच वर्ष बित्न लाग्दा वैकल्पिक सडक नै अलपत्र परेको हो । लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० को बजेटमा यो सडकका लागि सात करोड १६ लाख ५० हजार रकम विनियोजन गरेको छ । भूगर्भविदको सुझावका कारण मुढाबास खण्डको साढे चार किलोमिटर स्थायी संरचना निर्माण कार्य यस वर्षका लागि रोकिएको रुपन्देही सडक पूर्वाधार कार्यालयका इन्जिनियर ललित न्यौपानेले बताउनुभयो । हालसम्म रुपन्देही खण्डको १३ किलोमिटर खण्डमा सडक, पुल, कल्भर्ट निर्माणका क्रममा २० करोड रुपियाँ खर्च भएको छ । मुढाबास खण्डमा अर्को वर्षबाट बल्ल स्थायी संरचना निर्माणको काम सुरुवात हुनेछ । ‘मुख्य समस्या नै यहाँ पहिरोको हो, त्यसैले कहिले सम्पन्न हुन्छ, यकिन भन्न सकिंदैन,’ न्यौपानेले भन्नुभयो । चरङ्गेदेखि साढे आठ किलोमिटर सडक भने राम्रो छ । यसमा ग्राभेलको काम पनि सकिएको छ । ‘समस्या भनेको साढे चार किलोमिटरको हो,’ न्यौपानेले भन्नुभयो। सडक कार्यालय पाल्पाका प्रमुख अरुणकुमार गुप्ताका अनुसार पाल्पा खण्डमा पुल, कल्भर्ट र सडक ग्राभेल गर्दासम्म १० करोड ११ लाख ८६ हजार रुपैयाँ खर्च भएको छ । झुम्सा चौकीभञ्ज्याङ चरङ्गे वैकल्पिक मार्गको लम्बाई करिव २० किलोमिटर छ ।
प्रकाशित मिति: शुक्रबार, असार ३, २०७९  १२:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update