Erani Mahal
निगुरो : जैविक, पोषिलो र स्वादिलो
fb_img_15720577224461506186558
वनजंगलमा सजिलै पाइने, निगुरो । बनाउन सजिलो हुने, निगुरो । खादा स्वादिलो हुने निगुरो । स्वास्थ्यका लागि पोषिलो निगुरो । पूर्ण अर्ग्यानिक सब्जी, निगुरो । कति गुणी निगुरो ? हुन त अहिले सहरी क्षेत्रको करेसाबारीमा निगुरो रोप्ने चलन छ । यद्यपि यो वनजंगलमा सजिलै पाइन्छ । खासगरी बर्खायाम सुरु भएसँगै निगुरो खोज्ने, टिप्ने गरिन्छ । गाउँघरमा त निगुरोले नै सागसब्जीको अभाव टार्न सकिन्छ । निगुरोलाई भुटेर खाए हुन्छ, आलुमा मिसाए पनि हुन्छ । आलु र निगुरोको ग्रेभी पनि स्वादिलो हुन्छ । यस्तै, निगुरोमा दही मिसाएर सेवन गर्दा पनि कम स्वादको हुँदैन । पौष्टिकताले भरिपूर्ण निगुरो खानुको फाइदैफाइदा छन् । आफैँ वनजंगलमा गएर खोज्ने हो भने भान्साको खर्च कटौती हुने भयो । वनजंगलमा उम्रिएका हुनाले यो जैविक र मौसमी तरकारी पनि हो । पोषणविद्हरुले निगुरो पौष्टिकताले भरिपूर्ण रहेको बताउने गर्छन् । निगुरोको सेवन स्वास्थ्यका लागि फाइदाजनक रहेको उनीहरुको भनाइ छ । पोषणविद्हरू भन्छन्, ‘यसमा प्रोटिन, क्याल्सियम, भिटामिन ए लगायतका पोषकतत्व पाइन्छ ।’ बालबालिका र गर्भवती महिलालाई त निगुरो अरू बढी लाभदायक छ । किनभने निगुरोको तरकारी सेवन गरिहरहँदा भिटामिन प्राकृतिक रुपमै प्राप्त हुन्छ। अतिरिक्त भिटामिनको चक्की चपाइरहनु पर्दैन । पोषणविद्हरूले यसमा कोलेस्टोर एवं बोसोजन्य पदार्थ नपाइने भएकाले कुनैपनि किसिमको हानि नहुने बताएका छन् । पूर्णत: जैविक निगुरो यतिबेलाको मौसमी सागसब्जी हुन् । वनजंगलमा आफैँ उम्रने भएकाले यसमा कुनै रासायनिक मल वा विषादी प्रयोग हुँदैन । अर्थात् यो पूर्णत: जैविक हुन्छ । अहिले हामीले खाने धेरैजसो सागसब्जी विषादी मिसाइएको हुन्छ । व्यवसायिक ढंगले उत्पादन गरिएका सागसब्जीमा रासयनिक मल, किटनासक औषधि प्रयोग गरिन्छ । यस्ता सागसब्जी फलाउन, बढाउन, भण्डारण गर्न पनि रसायन वा विषादी मिसाउने गरिन्छ । के हो निगुरो ? यो उन्यू प्रजातिको घाँस हो । पहाड र तराई सबैतिरको जंगलमा निगुरो पाइन्छ । तर, यसको जातमा केही भिन्नता हुन्छ । साथै, स्वाद पनि फरक हुन्छ । तुलनात्मक रुपमा पहाडको जंगलमा पाइने निगुरो बढी स्वादिलो हुन्छ ।
प्रकाशित मिति: बुधबार, जेठ १८, २०७९  १४:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update