Erani Mahal
गणतन्त्र दिवसकाे अवसरमा तानसेनमा विचार गाेष्ठी कार्यक्रम
pgm antarkriya
पाल्पा – गणतन्त्र दिवसको अवसरमा जिल्लास्थित मानवअधिकार तथा शान्ति समाज पाल्पाकाे आयोजनामा ‘लोकतान्त्रिक गणतन्त्र, नागरिक अपेक्षा र राजनैतिक दलहरू’ विषयक छलफल तथा अन्तरक्रिया कार्यक्रम भएको छ । कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरूले दलहरूले नागरिकको अपेक्षा पूरा गर्न आफ्नो भूमिकामा व्यापक परिवर्तन गर्नुपर्नेमा जोड दिनुभएको थियो । कार्यक्रममा आफ्ना विचार राख्नुहुँदै प्रमुख अतिथि जिल्ला न्यायधीश खड्गबहादुर केसीले सडकका सामान्य नागरिक र विदेशमा रोजगारका लागि भौतारिने युवालाई सम्बोधन गरेर मात्र गणतन्त्र बलियो हुने बताउनुभएको छ । उहाँले संविधानमा उल्लेख भएका मौलिक अधिकारको कार्यान्वयन गर्न सबै पक्षले विशेष ध्यान दिनुपर्ने बताउनुभयो । नेकपा एमालेका जिल्ला अध्यक्ष धनेन्द्रराज घिमिरेले नागरिकको अपेक्षा पूरा गर्न र गणतन्त्रको संस्थागत विकास गर्न दलका नेताहरू आत्मसमीक्षा गरेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । यस्तै नेपाली काङ्ग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले सबै दलहरू मिलेर नागरिकको अवस्था परिवर्तनका लागि लड्नुपर्ने दिन आएको बताउनुभयो । नेकपा माओवादी केन्द्रका प्रतिनिधि मथुरा ढकालले दलहरूको रुपान्तरणले मात्रै गणतन्त्र संस्थागत हुन सक्ने बताउनुभयो । नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष कमल पाण्डेयले दीगो विकास, शान्ति र सुशासन नागरिकको अपेक्षा हो, त्यसलाई पूरा गर्न दलहरू लाग्नुपर्छ भन्नुभयो । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष डुलबहादुर कुँवरले दलहरूको व्यवहारमा परिवर्तन नआए जुनसुकै व्यवस्था आएपनि त्यो दीगो नहुने विचार राख्नुभयो । राष्ट्रिय जनमोर्चा पाल्पाका अध्यक्ष विशाल दर्लामीले सङ्घीय लोकतान्त्रि गणतन्त्र स्थापनापछि धेरै उपलब्धी भएपनि नागरिकले अनुभूती गर्ने खालका काम हुन नसकेकोमा चिन्ता व्यक्त गर्नुभयो । कार्यक्रममा मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय उपाध्यक्ष कृष्णबहादुर रावल, सहायक प्रमुख जिल्ला अधिकारी भक्तिसरा राना, तानसेन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पिताम्बर पाण्डेय, नागरिक समाजका सहसंयोजक मीनबहादुर केसी, त्रिभुवन बहुमुखी क्याम्पसका प्रमुख टङ्क भट्टराई, नेपाल पत्रकार महासङ्घका जिल्ला अध्यक्ष रेखीराम रानालगायतले आ–आफ्नो विचार राख्नुभएको थियो । कार्यक्रम समाजका सभापति अरुण ज्ञवालीको अध्यक्षता, उपसभापति रेणुका देवकोटाको स्वागत र सचिव सन्तवीर बरालको संचालनमा सम्पन्न भएको हो ।
प्रकाशित मिति: आइतबार, जेठ १५, २०७९  २०:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update