Erani Mahal
सिद्धबाबामा सुरुङमार्ग निर्माणको काम अघि बढाइने
surung-marga-222-1024x582
पाल्पा- सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा आर्थिक वर्ष २०७९/८० मा लुम्बिनी प्रदेशमा महत्वपूर्ण आयोजना अगाडि बढाउने घोषणा गरेको छ । सरकारका तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले आज सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको सरकारको नीति तथा कार्यक्रममा लुम्बिनी प्रदेशमा पर्यटन, जलविद्युत्, सिँचाइ, सडक पूर्वाधारलगायतका महत्वपूर्ण आयोजना सञ्चालन गरिने उल्लेख गरिएको छ । बुटवल–पाल्पा सडकखण्डमा पर्ने सिद्धबाबामा सुरुङमार्ग निर्माणको काम अघि बढाइने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । निर्माणका हिसाबले नेपालको दोस्रो सुरुङमार्ग सिद्धार्थ राजमार्गको सबैभन्दा जोखिम खण्डका रुपमा रहेको सिद्धबाबा खण्डमा सुरुङसँगै ‘रकसेड’ निर्माण गर्न लागिएको हो । नेपालमा पहिलो पटक बन्न लागेको ‘रकसेड’ ले पहिरोको व्यवस्थापन गरी क्षति कम गराउने अपेक्षा गरिएको छ । सुरुङ दुई लेनको हुनेछ । यहाँ चल्ने गाडीमध्ये पनि मुख्य सवारीसाधनलाई सुरुङबाट पठाइने र साना र कम क्षमताको सवारीसाधनलाई ‘रकसेड’ बाट पठाउने गरी योजना बनाइएको छ । निर्माण हुन लागेका संरचनामध्ये सुरुङको लम्बाइ एक हजार १२६ मिटर र बाटोको लम्बाइ जम्मा दुई दशमलव पाँच किमी हुन्छ । सरकारले यसका लागि १० अर्ब बजेट सुनिश्चित गरिसकेको छ । सुरुङमार्ग र ‘रकसेड’ निर्माणका लागि स्वीस सरकारले परियोजना अध्ययन प्रतिवेदन ९डिपिआर० तयार गरेको हो । सो डिजाइनका आधारमा निर्माण सुरु भएको पाँच वर्षमा संरचना निर्माण सकिनेछ । भौतिक पूर्वधार तथा यातायात मन्त्रालयले विसं २०७६ कात्तिकमा डिजाइन निर्माण तथा सञ्चालनका लागि आवश्यक बजेट सुनिश्चितताको माग गरेकोे थियो । राजमार्गअन्तर्गत माथिल्लो सिद्धबाबा मन्दिरदेखि दोभानसम्मको झण्डै चार किलोमिटर क्षेत्रलाई पहिरोको अति जोखिमयुक्त मानेर सुरुङ बनाउने योजना अघि बढाइएको थियो ।
प्रकाशित मिति: शुक्रबार, जेठ १३, २०७९  १७:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update