Erani Mahal
निस्दीमा नयाँलाई स्वागत, पुरानोलाई सम्मान
nisdi aa (1)
पाल्पा - निस्दी गाउँपालिका पाल्पामा स्थानीय तह सदस्य निर्वाचन - २०७९ मा निर्वाचित जनप्रतिनिधिलाई स्वागत तथा पुरानोलाई सम्मान गरेको छ । गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारुको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि निर्वाचन अधिकृतको कार्यालय निस्दीका निर्वाचन अधिकृत दुर्गा प्रसाद बस्याल रहनुभएको हो । कार्यक्रममा बोल्नुहुँदै निर्वाचन अधिकृत बस्यालले निर्वाचन सम्पन्न गर्न सहयोग पुर्याउनु हुने सबैलाई धन्यवाद प्रकट गर्नुभएको छ । बस्यालले निस्दीको समृद्धि र परिवर्तनको लागि धेरै सम्भावना रहेकोले नवनिर्वाचित जनप्रतिनिधिहरुलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको छ । अध्यक्षको असनबाट बोल्नुहुँदै गाउँपालिका अध्यक्ष सारुले जनप्रतिनिधिहरु जन्तालाई प्रभावित पर्न जन्ताको मनोभावना बुझेर अगाडि बढ्नुपर्ने बताउनुभएको छ । साथै सारुले निस्दीको समृद्धि र विकासको लागि सबै राजनैतिक दल , निवर्तमान जनप्रतिनिधि , कर्मचारी तथा सरोकारवाला व्यक्तिहरुसँग समन्वय गरेर अगाडि बढ्ने प्रतिबद्धता गर्नुभएको छ । निस्दी - ६ , अर्चलेका वडा अध्यक्ष मेख बहादुर सुनारीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा नवनिर्वाचित जनप्रतिनिधिहरुलाई अविर र खादाले सम्मान गरेको छ । साथै निवर्तमान जनप्रतिनिधिहरुलाई सम्मान पत्र , दोसल्ला र मायाको चिनो प्रदान गरेर सम्मान गरेको छ । कार्यक्रममा निवर्तमान गाउँपालिका उपाध्यक्ष रिता कुमारी अर्याल , नवनिर्वाचित उपाध्यक्ष तिरन कुमारी श्रेष्ठ , नेपाली कांग्रेस पाल्पा क्षेत्र नम्बर १ कका उपसभापति गोविन्द प्रसाद अर्याल , नेकपा एमाले निस्दीका अध्यक्ष नरबहादुर सुनारी , नेपाली कांग्रेस निस्दीका सभापति पूर्ण बहादुर खाँण , नेपाल शिक्षक महासंघ निस्दीका अध्यक्ष ईश्वरी प्रसाद अर्याल तथा निवर्तमान वडा अध्यक्षहरुले बोल्नुहुँदै नवनिर्वाचित जनप्रतिनिधिहरुलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको छ । कार्यक्रमको सञ्चालन प्रमुख प्रशासकीय अधिकृत राजु नेपालले गर्नुभएको हो ।
प्रकाशित मिति: बुधबार, जेठ ११, २०७९  १८:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update