Erani Mahal
मंकीपक्स भाइरस, सावधानी जरुरी
monkey paksa1653205792
काठमाडौँ – कोभिड–१९ को महामारी मत्थर हुँदा अफ्रिकी मुलुक हुँदै अमेरिका र युरोपका विभिन्न देशमा अहिले नयाँ रोगको प्रकोप फैलिएको छ । बाँदरमा लाग्ने ‘मंकीपक्सभाइरस’ मानिसमा पनि सरेपछि त्यसबारे उच्च सतर्कता अपनाइएको छ । बेलायत र स्पेनमा त्यसको प्रभाव बढेको छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार हालसम्म ८० जनालाई ‘मंकीपक्स भाइरस’ पुष्टि भइसकेको छ भने ५० जना शङ्कास्पद बिरामी छन् । युके हेल्थ सेक्युरिटी एजेन्सीका अनुसार मङ्कीपक्स भाइरसको पहिलो बिरामी अफ्रिकी मुलुक नाइजेरियाबाट आएका थिए । विश्व स्वास्थ्य सङ्गठनले हालसम्म मंकीपक्स भाइरस ११ राष्ट्रमा फैलिइसकेको जानकारी दिएको छ । हाल देखापरेको भाइरसलाई सामान्य रूपमा लिन नहुने भन्दै सङ्गठनले उक्त भाइरस गैरस्थानीय देशमा देखिएकाले असामान्य रहेको बताएको छ । सङ्गठनले भाइरस प्रभावित देश तथा अन्य निकायसँग बैठक बसेर भाइरस कम गर्न काम गरिरहेको जनाएको छ । प्रभावित हुन सक्ने मानिसलाई खोज्न र रोग व्यवस्थापन गर्न सङ्गठनले सहयोग गरिरहेको छ । भाइरस नियन्त्रणका लागि सङ्गठनले विज्ञ र प्राविधिक सल्लाहकार समूहहरूको बैठक जारी राख्ने जनाएको छ । सरुवा रोग विशेषज्ञ तथा शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिट प्रमुख डा.शेरबहादुर पुनले एसियामा सन् २०१९ मा सिङ्गापुरमा नाइजेरियाबाट आएका व्यक्तिलाई मंकीपक्स भाइरस देखिएको जानकारी दिनुभयो । मंकीपक्स भाइरस पहिलो पटक सन् १९५८ मा अनुसन्धानमा राखिएका बाँदरमा देखिएको थियो । यही कारणले यो भाइरसको नाम मङ्कीपक्स राखिएको थियो । मानिसमा भने सन् १९७० मा कङ्गोमा पुष्टि भएको थियो । डा.पुनका अनुसार अफ्रिकाभन्दा बाहिर व्यक्ति तथा जनावरबाट पुगेको हो । डा। पुनका अनुसार मंकीपक्स भाइरस सङ्क्रमण भएको पाँचदेखि २१ दिनभित्र लक्षण देखिन्छ । सुरुको अवस्थामा लक्षण अरू सङ्क्रामक रोगसँग मिल्दोजुल्दो देखिने भन्दै उहाँले ज्वरो आउने, टाउको दुख्ने, जिउ दुख्ने, जाडो हुने, लिम्फ ग्रन्थी सुन्निनेजस्ता प्रारम्भिक लक्षण देखापर्ने बताउनुभयो । प्रारम्भिक लक्षण देखिएको एकदेखि तीन दिनमा अनुहार तथा शरीरमा पानीका फोकाजस्ता बिबिरा देखिने, फुट्ने, सुक्ने र झर्ने गर्छन् । बिबिरा अनुहार तथा हातखुट्टामा बढी देखिने र दुईदेखि चार हप्तामा आफैँ निको हुने गर्छ । वरिष्ठ जनस्वास्थ्यविद् डा.बाबुराम मरासिनीले मंकीपक्स भाइरस नेपालमा पनि आउन सक्ने भन्दै सतर्कता अपनाउनुपर्ने बताउनुभयो । उहाँले १० सङ्क्रमितमध्ये एकको जटिलताका कारणले मृत्यु हुने सम्भावना रहेको बताउँदै मङ्कीपक्स भाइरसले निमोनिया, अन्धोपनजस्ता जटिलता ल्याउन सक्ने बताउनुभयो । मंकीपक्स भाइरस मानिसमा सङ्क्रमित जनावरको शरीरबाट निस्कने तरल पदार्थ वा रगतबाट सर्न सक्ने हुँदा त्यसबाट बच्न उहाँले आग्रह गर्नुभयो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार अधिकारीले अफ्रिकी मुलुक, युरोप तथा अमेरिका र बेलायतमा समेत मंकीपक्स फैलिएको जानकारी दिँदै नेपालमा सतर्कता अपनाउनुपर्ने बताउनुभयो । उहाँले मङ्कीपक्स भाइरस नेपालमा भित्रन नदिन हालसम्म खास तयारी भने नभएको बताउनुभयो । डा.पुनका अनुसार मङ्कीपक्सको विशेष औषधि छैन तर एन्टिभाइरल भ्याक्सिन प्रयोग गर्न सकिन्छ ।
प्रकाशित मिति: आइतबार, जेठ ८, २०७९  १८:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update