Erani Mahal
एमालेकाे  २५ वर्षे विरासत भत्काउँदै वुटवलमा खेलराज बने मेयर !
khelraj-pandey
बुटवल- नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलको गृहनगर बुटवल उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार खेलराज पाण्डेयले फराकिलो मतान्तरले जित हासिल गरेका छन् । २०७४ को निर्वाचनमा एमालेका शिवराज सुवेदीसँग पराजित भएका पाण्डेले यसपटक एमालेका बाबुराम भट्टराईलाई सात हजार ५३३ मतान्तरले पराजित गरेका हुन् । पाण्डेयले ३० हजार १३० मत पाएर निर्वाचित हुँदा एमालेका भट्टराईले २२ हजार ५९७ मत पाएका छन् । नेपाली कांग्रेसका बुटवल नगरसभापति समेत रहेका पाण्डेयलाई सत्तारुढ दलहरु नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको समर्थन थियो । पाण्डेयको यो जितसंगै बुटवलको नेतृत्वमा २५ वर्षपछि कांग्रेसले पुनरागमन गरेको छ । बुटवलमा २०५४ सालयताका सबैजसो चुनावमा नेकपा एमालेले जित्दै आएको थियो । नेकपा एमालेको विभाजन, राष्ट्रिय राजनीतिमा आएको फेरबदलसंगै बनेको ५ दलीय गठबन्धन र उम्मेदवार पाण्डेय निरन्तर जनताको घरदैलोमा पुग्ने बानी, सरल व्यवहार र व्यक्तिगत लोकप्रियताका कारण बुटवलमा एमालेको २५ वर्षे एकछत्र राज ढलेको विश्लेषण गरिएको छ । उपमेयरमा भने नेकपा एमालेकी सावित्रा अर्याल निर्वाचित भएकी छन् । एकीकृत समाजवादीका चिनबहादुर गुरुङलाई सात हजार ९२२ मतले पराजित गर्दै अर्याल निर्वाचित भएकी हुन् । अर्यालले २४ हजार ९०४ मत पाएर निर्वाचित हुँदा गुरुङले १६ हजार ९८० मत पाएका छन् । अघिल्लो निर्वाचनमा पराजित भएपनि पाण्डेय निरन्तर मतदाताको घरदैलोमा जाने र समस्या समाधानको पहल गरेका थिए । मोतीपुर औद्योगिक क्षेत्र र तिनाउ दानव कोरिडोरबाट प्रभावित झण्डै चार हजार परिवारको वैकल्पिक व्यवस्था गरेर मात्रै यी आयोजना अघि बढाउनुपर्ने स्थानीयको मागमा खेलराजले दरिलो साथ दिए । यस्तै सुकुम्बासी र अव्यवस्थित बसोबासी तथा ज्योतिनगर पहिरो प्रभावितको समस्यामा पनि उनले निरन्तर आवाज उठाए । यही कारण पाण्डेयले सहज जित निकालेका हुन् । बुटवलका १९ मध्ये नेपाली कांग्रेसले ४, ५, ६, ७, ८, ९, १२, १३, १५, १६ र १७ गरी १० वडाध्यक्ष जितेको छ । यसैगरी एमालेले वडा नं १०, ११, १४, १८ र १९ जितेको छ । नेकपा माओवादी, एकीकृत समाजवादी र स्वतन्त्रले एक–एक वडा जितेका छन् । बुटवलमा पाण्डेले जितेसँगै आउँदो प्रतिनिधि सभा र प्रदेश सभाको शक्तिसमेत एमालेबाट खोसिने संकेत देखिएको छ । बुटवललाई साझा चौतारी बनाउँछु, शासक बन्दिन : पाण्डेय नगर प्रमुखमा निर्वाचित भएपछि पाण्डेयले बुटवल उपमहानगरलाई सबै दल र संघसंस्थाको साझा चौतारी बनाउने बताए । उनले सबैको राय सुझावका आधारमा काम गर्ने बताए । ‘गर्नुपर्ने काम धेरै छन्, तर पहिलो काम बुटवल उपहानगरलाई सबैले अपनत्व लिनेगरी सबै दल र संघसंस्थाको साझा चौतारी बनाउँछु’, पाण्डेयले भने, ‘कार्यपालिका गठनपछि सबैको राय सुझावका आधारमा मात्रै निर्णय गर्छु एक्लै केही गर्दिन, अर्को मुख्य कुरा म शासक बन्दिन सेवक बन्छु ।’ चौराहा–बुटवल सडक निर्माणलाई छिटो पूरा गराउने, खानेपानी समस्या, ज्योतिनगर पहिरो नियन्त्रण, मोतीपुर औद्योगिक क्षेत्र, तिनाउ दानव करिडोर प्रभावित र सुकुम्बासी तथा अव्यवस्थित बसोबासीका समस्या समाधान आफ्नो प्राथमिकतामा रहेको पाण्डेयले बताए । कार्यभार सुरु गरेपछि कानूनी व्यवस्था गरेर घर बहाल कर, हाटबजार वैठकी कर, ई रिक्सा सवारी कर र सिफारिस शुल्क घटाउने पाण्डेयले बताए । नगरवासीको दुर्घटना बिमाका लागि आर्थिक प्याकेजसहितको विशेष कार्यक्रम ल्याउने पनि पाण्डेयले घोषणा गरेका थिए । जनप्रतिनिधिले निजी तथा दलीय प्रयोजनका लागि सरकारी सवारी साधनको प्रयोग गर्ने परिपाटी अन्त्य गर्ने, जनप्रतिनिधिको एक महिनाको तलब नगरबासीहरुको स्वास्थ्य बिमा कार्यक्रमका लागि योगदान गर्ने पाण्डेयले बताए । आफू मेयरको कुर्सीमा बसेकै आर्थिक हैसियतमा पाँच वर्षपछि विदा हुने, कार्यालय समयको आधा समय मतदाताको घरदैलोमा पुग्ने योजना रहेको समेत बताए । को हुन् खेलराज पाण्डे ? ५ फागुन २०२६ मा बुबा लीलावल्लभ पाण्डे र आमा तारादेवी पाण्डेको कोखबाट स्याङ्जाको साविक आलमदेवी २ (हाल कालीगण्डकी गाउँपालिका- २) मा जन्मिएका पाण्डे हाल बुटवल उपमहानगरपालिका– ६ का बासिन्दा हुन् । १३ वर्षको उमेरमै २०३८ सालमा बुटवलमा झरेका पाण्डेले पार्टी राजनीति बुटवलबाटै सुरु गरे पनि विद्यार्थी संगठनमा आवद्ध भई स्याङ्जाबाट आफ्नो राजनीतिक जीवन सुरु गरेका हुन् ।आदर्श मावि स्याङ्जाबाट २०३९ सालमा नेपाल विद्यार्थी संघको सदस्यता लिएका पाण्डे २०४० सालमा पाल्पाको जेभीटी स्कुलमा पढ्दा नेविसंघकै समितिमा आवद्ध भए । त्यसपछि २०४३ सालमा त्रिभुवन विश्वविद्यालयअन्तर्गत पाल्पा क्याम्पसमा विज्ञान संकायको इकाइ सदस्य, २०४४ सालमा अमृत साइन्स क्याम्पसमा नेविसंघको सचिव, २०४७ सालमा बुटवल बहुमुखी क्याम्पसको नेविसंघ उपसभापति र २०५२ सालमा रूपन्देहीको नेविसंघ सचिव बनेका हुन् । विद्यार्थी राजनीतिपछि तरुण दलमा आवद्ध पाण्डे २०५९ सालमा नेपाल तरुण दल रूपन्देहीको अध्यक्ष, २०६० सालमा नेपाल तरुण दल केन्द्रीय सदस्य भए भने २०६७ सालमा नेपाली कांग्रेस बुटवल नगर सभापति भए । २०६७, २०७२ र २०७८ सालमा भएका अधिवेशनबाट पाण्डे निरन्तर नेपाली कांग्रेस बुटवल नगर समितिको सभापति रहे । श्रीमती सीता भट्टराई पाण्डेय र छोरा अभिषेकका साथ बुटवलमा बसोबास गर्दै आएका पाण्डेले स्नातक तहसम्मको अध्ययन गरेका छन् । आफ्नो निजी घर नभएका पाण्डे ३५ वर्षदेखि डेरामा बस्दै आएका छन् । उनको आफ्नो सवारी साधन पनि छैन । पार्टीका कार्यक्रमहरुमा उनी अरुको लिफ्ट मागेर या नजिकमा पैदल हिँडेर पुग्ने गर्छन् । बिहानैदेखि साँझ अबेरसम्म पार्टी र सामाजिक काममा व्यस्त रहने पाण्डे बुटवलका हरेक वडा र टोलसम्म परिचित व्यक्ति हुन् । टाेपराज शर्मा अनलाइन खबरकाे सहयाेगमा ।
प्रकाशित मिति: शनिबार, जेठ ७, २०७९  १९:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update