Erani Mahal
पाल्पाका निर्वाचित जनप्रनिधिहरूलाई पद तथा गोपनीयताको सपथ
sapath1
पाल्पा – पाल्पाको नौँ पालिकामा निर्वाचित स्थानीय तहका प्रमुख तथा अध्यक्षहरूले सपथ लिनुभएको छ । पाल्पाबाट निर्वाचित जनप्रतिनिधिहरूलाई मुख्य निर्वाचन अधिकृत खड्गबहादुर केसीले पद तथा गोपनीयताको सपथ खुवाउनुभएको हो । जिल्लाको रम्भा गाउँपालिकामा मतगणनामा विवाद हुँदा त्यहाँको नतिजा आउन सकेको छैन । अन्य पालिकाका प्रमुख तथा अध्यक्षहरूले भने बिहीबार एक कार्यक्रमका बीच पद तथा गोपनीयताको सपथ लिनुभएको हो । सपथग्रहण कार्यक्रममा रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापा, निस्दी गाउँपालिकाका अध्यक्ष मुक्तबहादुर सारु, पूर्वखोला गाउँपालिकाका अध्यक्ष नुनबहादुर थापा, माथागढी गाउँपालिकाका अध्यक्ष यमबहादुर चिदी, बगनासकाली गाउँपालिकाकी अध्यक्ष सरस्वती चिदीको सहभागिता रहेको थियो । त्यस्तै सपथग्रहण समारोहमा तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठ, रिब्दीकोट गाउँपालिकाका अध्यक्ष नारायणबहादुर कार्की, रैनादेवी छहरा गाउँपालिकाका अध्यक्ष रुक्मागत भट्टराई सहभागी हुनुभएको थियो । तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठले पनि बिहीबार नै सपथ लिनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । पालिका प्रमुख र अध्यक्षले सपथ लिएपछि पालिकाका उपाध्यक्ष, वडा अध्यक्ष तथा सदस्यहरूलाई सपथ गराउने व्यवस्था छ । शुक्रबारदेखि नवनिर्वाचित जनप्रतिनिधिहरूले जिम्मेवारी सम्हानुहुनेछ । सपथ ग्रहण कार्यक्रममा मुख्य निर्वाचन अधिकृत केसीले जनताको चाहना र भावनालाई शिरोपर गर्दै काम गर्न नवनिर्वाचित जनप्रतिनिधिहरूलाई आग्रह गर्नुभयो । बिहीबार नै नवनिर्वाचित जनप्रतिनिधिहरूलाई प्रमाणपत्र समेत वितरण गरिएको थियो ।
प्रकाशित मिति: शुक्रबार, जेठ ६, २०७९  १२:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update