Erani Mahal
बर्तुङ सहकारीले देवकोटाचोकमा खोल्यो सुपथ मूल्य पसल
020
पाल्पा– तानसेनको देवकोटाचोकमा ‘बर्तुङ्ग सुपथ पसल’ खुलेको छ । सुपथ मूल्य पसल खुलेपछि एकाधिकाको समस्यामा परेका बर्तुङ्ग क्षेत्रका स्थानीय खुसी भएका छन् । उपभोक्तालाई सुपथ मूल्यमा गुणस्तरीय दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले तानसेन नगरपालिकाको आर्थिक सहयोगमा बर्तुङ्ग बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले सुपथ पसल सञ्चालन गरेको हो । तानसेन नगरपालिकाका प्रमुख अशोक कुमार शाहीले सुपथ पसलको उद्घाटन गर्नुभएको छ । बजारको मूल्यमा एकरुपतामा ल्याउन तथा सहज सेवा प्रदान गर्न सुपथ पसलले महत्वपूर्ण भूमिका निर्वाह नगरप्रमुख शाहीले बताउनुभयो । उहाँले जनताको मनोभावना बुझेर सोही अनुसारका सेवा उपलब्ध गराउनुपर्ने बताउनुभयो । तानसेन नगरपालिका वडा नं. ७ का वडाध्यक्ष मुक्तिराम जिसी तथा तानसेन सहकारी सञ्जालका अध्यक्ष महेश्वर पन्तले उपभोक्ताको मागअनुसार दैनिक उपभोग्यवस्तु बिक्री गर्दा मूल्य, गुणस्तर र आवश्यकतालाई ध्यान दिनुपर्ने बताउनुभयो । बर्तुङ्ग बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष विधान श्रेष्ठले स्थानीय उत्पादनलाई प्राथमिकता दिएर उपभोग्य वस्तुहरु बिक्रीमा राखिने बताउनुभयो । सुपथ पसलबाट सुपथ मूल्यमा गुणस्तरीय सामग्री उपलब्ध गराउने सहकारीका अध्यक्ष भीमलाल भट्टराई श्रेष्ठले बताउनुभयो । तीन लाख ५० हजारको लगानीबाट सुरु गरेको पसलमा असार मसान्तसम्म ५० लाख बराबरको लगानी गर्ने योजना रहेको श्रेष्ठले बताउनुभयो । सुपथ मूल्य पसलमा चामल, दाल, तेल, आँटा, चिउरा, चिनी, चियापत्ति, साबुन लगायतका उपभोग्य वस्तु सामग्री उपलब्ध गराईएको सहकारीका व्यवस्थापक कृष्ण अर्यालले बताउनुभयो । बजारको अस्वस्थ प्रतिस्पर्धालाई न्यूनिकरण गर्न तानसेन नगरपालिकाले सहकारीसँग सहकार्य गरेर सुपथ पसल सञ्चालन गरेको तानसेन नगरपालिका सहकारी शाखा प्रमुख तथा वरिष्ठ अधिकृत दुर्गा थापाले बताउनुभयो । सुपथ पसल सञ्चालन भएपछि यहाँका उपभोक्ता खुसी भएका छन् ।
प्रकाशित मिति: बुधबार, वैशाख २८, २०७९  ०९:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update