Erani Mahal
भोलिबाट एसईईः लुम्बिनीमा साढे ८६ हजार परीक्षार्थी
lumbini1632037703 (1)
यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) भोलिबाट सुरु हुँदै छ । कोभिड महामारीका कारण विगत दुई शैक्षिक सत्र विद्यालयको आन्तरिक मूल्याङ्कनबाटै सञ्चालन भएको माध्यमिक शिक्षा परीक्षा एसईई यो वर्षबाट पुनः विगतको जस्तै भोलिदेखि परीक्षा सञ्चालन हुन लागेको हो । परीक्षामा देशभरबाट पाँच लाख १४ हजार ९६७ परीक्षार्थी परीक्षामा सहभागी हुने राष्ट्रिय परीक्षा वोर्डले जनाएको छ । कुल परीक्षार्थीमध्ये छात्राको संख्या २ लाख ५७ हजार ९ सय २४ छ भने छात्रको संख्या २ लाख ५७ हजार ५३ रहेको छ । त्यस्तै, परीक्षामा प्राविधिक समूहमा ४२ विषय समावेश छन् भने प्राविधिक धारका विद्यार्थीको संख्या १४ हजार ५ सय ६४ छ । ग्रेडवृद्धि परीक्षामा ११ हजार ४ सय १४ परीक्षार्थी सहभागी हुँदैछन् । यस्तै लुम्बिनी प्रदेशबाट लुम्बिनी प्रदेशबाट ८६ हजार ६२४ परीक्षार्थी सहभागि हुने छन् । लुम्बिनी प्रदेशबाट परीक्षामा सहभागि हुने परीक्षार्थी मध्ये २ हजार ८६६ जना प्राविधिक धारका र २ जना परीक्षार्थी दृष्टिबिहिन रहेको शिक्षा तथा सामाजिक विकास निर्देशनालय लुम्बिनी प्रदेशका निर्देशक मनोज कुमार गैरेले जानकारी दिनुभयो । लुम्बिनी प्रदेशका १२ जिल्ला मध्ये सबै भन्दा धेरै परीक्षार्थी रुपन्देही जिल्लामा र सबै भन्दा कम परीक्षार्थी रुकूम पूर्वमा रहेको शिक्षा तथा सामाजिक विकास निर्देशनालय लुम्बिनी प्रदेशका निर्देशक गैरेले बताउनुभयो । यस्तै परीक्षा सञ्चालनका लागि ३ सय २७ केन्द्राध्यक्ष, ५ सय ७९ जना सहायक केन्द्राध्यक्ष, ४ हजार ३४५ जना निरीक्षक, ८ सय ६७ जना सहायक निरीक्षक र १ हजार ७१३ जना कार्यलय सहयोगि परीक्षामा खटिने निर्देशक गैरेले बताउनुभयो । कुन जिल्लामा कति परीक्षार्थी ? लुम्बिनी प्रदेशमा सबै भन्दा धेरै परीक्षार्थी रहेको रुपन्देही जिल्लामा २ दृष्टिबिहीन सहित १८ हजार २५४ परीक्षार्थी र सबै भन्दा कम रुकूम पूर्वमा १ हजार १४१ परीक्षार्थी एसईईमा सहभागि हुने छन् । यस्तै बाँकेमा ९ हजार २८९, बर्दियमा ८ हजार ५९१, दाङमा १३ हजार १५२, कपिलबस्तुमा ८ हजार ८३, रोल्पामा ४ हजार ११७, प्यूठानमा ४ हजार ४२२, गुल्मीमा ४ हजार ८२३, अर्घाखाँचीमा ३ हजार ५८५, नवलपरासीमा ६ हजार ३२६ र पाल्पामा ४ हजार ८४१ जना परीक्षार्थी माध्यमिक शिक्षा परीक्षाको परीक्षा दिने छन् । परीक्षाको सबै तयारी पुरा भएको शिक्षा तथा सामाजिक विकास निर्देशनालय लुम्बिनी प्रदेशका निर्देशक मनोज कुमार गैरेले बताउनुभयो । परीक्षा वैशाख २० गते सकिने छ भने परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म चल्ने छ । सरकारले एसईईलाई केन्द्रको जिम्मेवारीबाट प्रदेशलाई हस्तान्तरण गर्ने बताईरहे पनि कानुन अभावमा यो वर्षको परीक्षा राष्ट्रिय परीक्षा बोर्डमार्फत् सञ्चालन हुन लागेको छ ।
प्रकाशित मिति: बिहीबार, वैशाख ८, २०७९  १५:००
प्रतिक्रिया दिनुहोस्
Weather Update