Erani Mahal
पाल्पामा दलहरूकाे गठबन्धन कहाँ सहज, कहाँ सकस ?
5 dal palpa
पाल्पा – सत्ता गठबन्धनमा आबद्ध पाल्पाका पाँच दल चुनावी तालमेलका लागि छलफलमा छन् । जिल्लाभर नै तालमेलका लागि प्रयास भइरहेको नेताहरू बताएका छन् । यद्यपी चुनावी तालमेल गर्न सजिलो भने छैन । दुई वटा नगरपालिकासहित दश वटा पालिका रहेको पाल्पामा सत्ता गठबन्धनबीच तालमेल भएको खण्डमा पाल्पाको अधिकांश पालिका जित्ने दावी गठबन्धनको छ । तर केन्द्रमा भएजस्तो एकता कार्यकर्ता र मतदाताको भावनामा भने छैन । पाल्पाको निस्दी र पूर्वखोल गाउँपालिका गठबन्धन भएकै अवस्थामा पनि गठबन्धनलाई चुनाव जित्न निकै गाह्रो छ । २०७४ सालको निर्वाचनमा प्राप्त मतलाई केलाउने हो भने एमालेलाई हराउन पाँच दललाई निकै गाह्रो छ । पूर्वखोला र निस्दी बाहेक अन्य पालिकामा गठबन्धन गरेको खण्डमा एमालेलाई हराउन सहज छ । यद्यपी गठबन्धन कसरी गर्ने, कहाँ कसले छोड्ने भन्ने विषयमा मतभेद कायमै छ । कांग्रेसले यसअघिको चुनावमा चार वटा पालिका जितेको थियो । ती पालिका रामपुर, माथागढी, बगनासकाली र रैनादेवी छहरामा कांग्रेसलाई नेतृत्व दिने विषयमा लगभग सहमति छ । तर तिनाउ, रिब्दीकोट, तानसेन र रम्भामा भने नेतृत्व कसले गर्ने भन्ने विषयमा छलफल भइरहेको गठबन्धनमा आबद्ध दलका नेताहरूको भनाई छ । गठबन्धनको ठूलो दल कांग्रेस पछि माओवादीले जिल्लाको रिब्दीकोट गाउँपालिका र तिनाउ गाउँपालिकामा नेतृत्व दावी गरिरहेको छ । रिब्दीकोटमा माओवादीलाई नेतृत्व छोड्न कांग्रेस पनि तयार देखिएको स्रोतले जनाएको छ । यद्यपी तिनाउमा भने कांग्रेसको तल्लो कमिटीको मत गठबन्धन नगरी चुनावमा जाने वा आफूलाई माओवादीले नेतृत्व दिनुपर्ने छ । यसले तिनाउमा समेत पालिकाको नेतृत्व मागिरहेको माओवादीलाई बिच्काएकाे छ । नेकपा एकीकृत समाजवादीले समेत रिब्दीकोट, रैनादेवी छहरा, रम्भामध्ये एकमा उपाध्यक्ष वा अध्यक्ष पाउनुपर्ने दावी गरिरहेको छ । गठबन्धनमा आबद्ध जसपा र जनमोर्चाले पनि वडाअध्यक्षसहितका पदमा दावी गरिरहेको छ । यस हिसावले चुनावी गठबन्धन गर्न केन्द्र, प्रदेशबाट निर्देशन भएपनि ठोस योजनासहित गठबन्धन अगाडि बढ्न गाह्रो रहेको छ । जिल्लाको कांग्रेस एकलैले जितेको रामपुर माथागढी, बगनासकाली र रैनादेवी छहरामा पनि कसरी भागवण्डा गर्ने भन्ने अन्यौल कायमै रहेको छ । जिल्ला, केन्द्र र प्रदेशमा नेताहरूको भावना एकै पनि पनि पालिका पिच्छे मतदाता र कार्यकर्ताको मनोविज्ञान समेत फरक भएको हुँदा गठबन्धनको परिणाम देखिन गाह्रो देखिन्छ । यद्यपी गठबन्धनलाइ कायमै राख्ने निरन्तर पहल भइरहेकाले गठबन्धनकै पक्षमा परिणाम नआउला भन्न सकिन्न ।
प्रकाशित मिति: मंगलबार, चैत २९, २०७८  १६:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update