Erani Mahal
चार जिल्लाको धार्मिक पर्यटकीय क्षेत्रका रुपमा  विकास हुँदै ‘रामघाट’
Ramtar
पाल्पा- धार्मिक नगरी ‘रामघाट’ कालीगण्डकीवेशीकै धार्मिक तथा पर्यटकीय गन्तव्यस्थलका रुपमा चिनिन्छ । पाल्पा, स्याङ्जा, तनहुँ र नवलपुर गरी चार जिल्लाको धार्मिक पर्यटकीय नगरीका रुपमा रहेको रामघाट क्षेत्र कालीगण्डकीबेँसीको धार्मिक महत्वका रुपमा लिइन्छ । पौराणिक ऐतिहासिकलाई संरक्षण गर्दै गुरुयोजनाबमोजिम पूर्वाधार विकासको काम थालिएपछि यहाँ धार्मिक तथा पर्यटकीय क्षेत्रमा विकासका काम धमाधम अगाडि बढाइएको छ । पाल्पाको रामपुर नगरपालिका–५ स्थित कालीगण्डकी नदीको तटमा पर्ने रामघाट पौराणिककालदेखि नै तीर्थस्थलका रुपमा चिनिँदै आएको पवित्र धार्मिक नगरी हो । पूर्वाधार विकासका विभिन्न कार्य भइरहँदा अहिले यहाँ चहलपहल बढ्दैछ । मन्दिरसम्म पुग्ने सडक सुविधा भएपछि यहाँ घुम्न जानेको आकर्षण बढ्दो छ । विशेषगरी शनिबार र सार्वजनिक बिदाका दिन रामघाट परिसर घुम्न पुगेका आन्तरिक पर्यटक कालीगण्डकी, रामघाटको रमाइलो दृश्यसँग लोभिन पुग्छन् । यहाँ करिब दुई वर्ष पुरानो लक्ष्मीनारायणको मन्दिर पुनः निर्माण, महन्त निवास, पुजारी निवास भवन, धर्म आश्रम, शौचालय, खानेपानी, ट्याङ्की, पर्यटक लक्षित चौतारी, प्रतीक्षालय निर्माण गरिएको छ । मन्दिर प्रवेशद्वार, पुरानो पौवा, पानीको फोहरासहित शालिकराम स्तम्भ, पीपलका बगैँचा, फलफूलका बगैँचा, मन्दिर परिसरको पर्खालहरु निर्माण भएका छन् । ज्येष्ठ नागरिकलाई लक्षित गरी ज्येष्ठ नागरिक मिलन केन्द्रको भवन निर्माण गरिएको छ । दुईतले भवनमा तीनवटा हल रहनेछ । सङ्घीय सरकारको रु २५ लाख र रामपुर नगरपालिकाको रु तीन लाख सहयोगमा सो भवनको निर्माण सम्पन्न भएको लक्ष्मीनारायण मन्दिर संरक्षण समितिका अध्यक्ष बुद्धिप्रकाश रेग्मीले बताउनुभयो । “त्रेतायुगमा भगवान् श्री रामले वनबास जाने क्रममा बसोबास गरेको रामतपोभूमिका रुपमा चिनिएको रामघाटलाई नेपालकै धार्मिक गन्तव्यस्थलका रुपमा विकास गर्ने लक्ष्यका साथ पर्यटन विकास र धार्मिक संरचना सम्बन्धी गुरुयोजना बनाएर पूर्वाधार निर्माणका कार्य भइरहेको छ”, उहाँले भन्नुभयो । रामघाट परिसर नजिकै वशिष्ठ गुफा, रामगुफालगायत दर्जनको हाराहारीमा गुफा छन् । कालीगण्डकी करिडोर सडकखण्डबाट करिब साढे दुई किलोमिटर उत्तरमा अवस्थित यो क्षेत्र प्राकृतिक सुन्दरताले भरिपूर्ण छ । रामघाटको पर्यटन विकासका लागि विसं २०७४ देखि दसवर्षे गुरुयोजना बनाएर भौतिक पूर्वाधार विकास निर्माणका कार्यहरु भइरहेको छ । यहाँको संरचना निर्माणमा हालसम्म करिब रु दुई करोड खर्च भइसकेको अध्यक्ष रेग्मीले जानकारी दिनुभयो । रामघाट क्षेत्रमा विवाहमण्डप, वनभोजस्थल, त्रिदेव मन्दिर, प्रतीक्षालय, सचिवालय भवन, रामघाट क्षेत्रमा पुग्ने सडक पक्की बनाउने जस्ता कार्य गुरुयोजनामा समेटिएको छ । यहाँ करिब ८४ रोपनी क्षेत्रफललाई धार्मिक तथा पर्यटन विकासका दीर्घकालीन संरचना तयार पार्ने कार्य भइरहेको छ । सामाजिक हितमा राखिएको यो गुठी स्थापनाकालदेखि नै दैनिक पूजाआजा व्यवस्थापन रेग्मी परिवारबाट गरिँदै आएको र समुदायमा हस्तान्तरणपश्चात् भने समुदायबाट सञ्चालित छ । गुरुयोजना तयार पारी काम गर्न थालेपछि रामघाटले छोटो समयमा नै विकासमा फड्को मार्दै गएको रामपुर उपत्यका पर्यटन विकास समितिका अध्यक्ष श्यामकान्त खनालले बताउनुभयो । “कालीनदी किनारमा रहेको, सडक सुविधा पुगेको यस ठाउँमा जीवनको उत्तराद्र्धमा यहाँ आएर धार्मिक क्रियाकलापमा सरिक हुने माध्यम बनेको छ, भूगोलले पनि उपयुक्त यो क्षेत्र भविष्यमा देवघाटस्थल जस्तै बन्नेछ,” उहाँले भन्नुभयो । यहाँ ज्येष्ठ नागरिक मिलन केन्द्रको भवन निर्माण भएकाले यो सञ्चालनमा आएपछि बुढेसकालमा जमघट हुने र दिनचर्या बिताउने मार्ग बन्ने अध्यक्ष खनालले बताउनुभयो । यहाँ ज्येष्ठ नागरिक मिलन केन्द्र सञ्चालनमा ल्याइएपछि छोराछोरी, बुहारी, परिवारबाट अपहेलित ज्येष्ठ नागरिकलाई बुढेसकालमा आश्रयस्थल लिन सहज हुनेछ । यहाँ रामनवमी, कृष्णाजन्माष्टमी, अक्षयतृतीया पर्व र नयाँ वर्षका दिन विशेष मेला लाग्दै आइरहेको छ । यस वर्षको रामनवमी पर्वका दिन एघार लाख लक्ष्यवती दीप प्रज्वलन गर्ने कार्यक्रम रहेको छ । कालीगण्डकीमा स्नान गरी नदीको पवित्र जल लक्ष्मीनारायण मन्दिरमा चढाएर रामपुर नगरपालिका–३ र ४ मा पर्ने सीताकुण्डमा पुगेर जल मिसाएर पूजाआजा गरी पुनः लक्ष्मीनारायण मन्दिरमा नै आएर पूजा गर्ने चलन रहेको लक्ष्मीनारायण मन्दिर व्यवस्थापन समितिका सदस्य मीनराज रेग्मीले बताउनुभयो । यसो गरेमा पुण्य प्राप्ति हुने विश्वास गरिन्छ । सो दिन रामघाटको दर्शन गर्ने भक्तजनको उपस्थिति ठूलो सङ्ख्यामा भेटिन्छन् । मन्दिर सञ्चालनका लागि रामपुर नगरपालिका–४ र ५ मा दर्ता भएको करिब एक हजार रोपनी र दर्ता नभएको एक हजार एक सय रोपनी जग्गा रहेको छ । रामपुर–४ खोप्टारमा लक्ष्मीनारायण गुठीका नाममा रहेको पुरानो धर्मशालाको पुनःनिर्माणको कार्य धमाधम भइरहेको छ । रामपुर नगरपालिकाले रामघाट क्षेत्रलाई उत्कृष्ट पर्यटकीय क्षेत्रका रुपमा समावेश गरेको छ । रामघाटको ऐतिहासिक महत्व भगवान् रामचन्द्रले त्रेतायुगमा वनबासका क्रममा रामघाटमा स्नान गरेको, ऋषिमुनि बोलाई यज्ञ गरेको र नजिकै रहेको रामगुफामा बसोबास गरेको तथ्य पाइन्छ । द्वापरयुगमा पाण्डवहरु पनि यही ठाउँमा स्नान गरेको र शुक्ला गण्डकीको पानी कृष्णगण्डकीको रामघाटमा ल्याउन तनहुँको भिमादमा बाँध बाँधेको र शिवजीको बाणको सहयोगबाट जल आउने गरेको तथ्य गङ्गामहात्म्ये, बराहपुराण र शिव पुराणमा उल्लेख छ । पुराणकै तथ्यअनुसार रामघाटमा सदा ३३ कोटी भगवान्ले बास बस्ने पवित्रस्थल भनी उल्लेख गरेको पाइन्छ । त्यसैले रामघाट क्षेत्र पूर्वी पाल्पाकै सबैभन्दा पुरानो पौराणिक कथामा उल्लेख भएका भगवान्हरुको पनि तीर्थस्थल भएको मानिन्छ । पौराणिककालदेखि तीर्थालुहरु यहाँ आएर स्नान गर्ने, यज्ञादी गर्ने आदि गर्दै आए तापनि दुई सय वर्षअगाडि लक्ष्मीनारायणको मन्दिर बनाई गुठी राखिएको विसं १८८९ को प्राप्त सनतबाट प्रमाणित भएको छ । पौराणिक किंवदन्तीअनुसार त्रेतायुगमा भगवान् राम वनबास जाँदा कालीगण्डकीको यस रामघाट क्षेत्रमा आएर बसोबास गरेको र उनले दैनिक यही घाटमा स्नान गरेको हुँदा यस घाटको नाम रामघाट हुन गएको हो । विसं १८७० को समयतिर स्थानीय तुल्सीराम रेग्मीलाई राति सपनामा भगवान् रामले रामघाट क्षेत्रमा लक्ष्मीनारायण मन्दिर स्थापना गरेर दिनहुँ पूजाआजा गर्न दर्शन दिएपछि विसं १८८९ मा मन्दिर स्थापना गर्नुभएको हो । लक्ष्मीनारायणको मन्दिर यो क्षेत्रकै धार्मिक गहनाका रुपमा लिने गरिन्छ । पहिले पहिले पैदल हिँडेर एकदुई दिनको समय खर्चिएर बासै बस्ने गरी दर्शन गर्न आउने गरेको बुढापाका बताउँछन् ।
प्रकाशित मिति: शनिबार, चैत २६, २०७८  १५:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update