Erani Mahal
रामपुरमा २ महिने ढाका बुनाई तालिम सुरु
D h
पाल्पा- रामपुरमा विहिबार देखि २ महिने ढाका बुनाई तालिम सुरु भएको छ । ‘सिप सिकौं, स्वरोजगार बनौं’ भन्ने नाराका साथ बेझाँडमा सुरु भएको तालिम घरेलु तथा साना उद्योग कार्यालय तानसेन पाल्पाको आयोजना र कालीगण्डकी फाउण्डेशन नेपालको समन्वयमा सुरु भएको हो । तालिमको समुद्घाटन गर्दै रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्र प्रकाश ढकालले पाल्पाको पहिचानको रुपमा रहेको ढाकाले ब्राण्ड प्राप्त गरेको र जिल्लालाई ढाकाको राजधानी घोषणा भएकाले ढाका व्यवसायको निकै सम्भावना रहेको बताउनुभयो । उहाँले स्वरोजगार सृजनाका लागि सीपमुलक तालिमले महत्वपूर्ण भुमिका निर्वाह गर्ने बताउँदै उद्यम बन्ने लक्ष्यका साथ तालिमलाई ग्रहण गर्न आग्रह गर्नुभयो । उहाँले रामपुर उद्योग वाणिज्य संघले पनि ढाकाको प्रवद्र्धनको लागि आवश्यक पहल गर्ने प्रतिवद्धता जनाउनुभयो । घरेलु तथा साना उद्योग कार्यालय तानसेन पाल्पाका प्रमुख देवीराम भण्डारीले मागमा आधारित कार्यक्रम अन्तर्गत कार्यालयले तालिम सञ्चालन गरेको जानकारी दिदै आधारभूत तालिम पश्चात ढाकाको प्रवद्र्धनका लागि अन्य तालिम पनि सञ्चालन गर्ने बताउनुभयो । कार्यालयले व्यवसाय सञ्चालन गर्न चाहानेहरुको लागि सहयोग गर्ने पनि बताउनुभयो । पूर्वी पाल्पा मजदुर व्यवस्थापन समितिका अध्यक्ष निलकण्ठ भण्डारीले ढाकाको बजार संगै तालिमले महत्वपूर्ण अवसर प्रदान गर्ने भन्दै अवसरको सदुपयोग गर्न आग्रह गर्नुभयो । कालीगण्डकी फाउण्डेशन नेपालका उपाध्यक्ष पवित्रा पौडेल ढकालले महिलाहरुको जिवन स्तर उकास्नको लागि घरेलु उद्यमको ठूलो भुमिका रहने बताउनुभयो । १५ जना महिलाहरुको सहभागीता रहेको तालिमको सहजिकरण प्रशिक्षक तारा बहादुर रानाले गरिरहनु भएको छ । घरेलु तथा साना उद्योग कार्यालय तानसेन पाल्पाका प्रमुख देवीराम भण्डारीको अध्यक्षतामा भएको कार्यक्रम कालीगण्डकी फाउण्डेशनका सदस्य जिवन तिवारीको स्वागत र घरेलु तथा साना उद्योग कार्यालयका उद्यम विकास सहजकर्ता मनोज घिमिरेको सञ्चालनमा भएको हो ।
प्रकाशित मिति: शुक्रबार, चैत २५, २०७८  १८:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update