Erani Mahal
स्वास्थ्य बीमा कार्यक्रम रोकिएकोमा नेपाली काँग्रेस पाल्पाकाे आपत्ति
swasthya_bima
पाल्पा – सरकारले स्वास्थ्य बीम गराएका बिरामीको उपचार खर्च बापतको खर्च सोध भर्ना नगराएको भन्दै केही अस्पतालले उपचार बन्द गराएकोमा नेपाली काँग्रेस पाल्पाले आपत्ति जनाएको छ । काँग्रेस महामन्त्री गगन कुमार थापा स्वास्थ्यमन्त्री हुँदा ल्याइएको स्वास्थ्य बीमालाई विभिन्न बहानामा कमजोर गराउने प्रयत्न भइरहेको भन्दै बहानाबाजी नगर्न र सहज रुपमा सेवा निरन्तर गर्न काँग्रेस पाल्पाले अपिल गरेको हो । काँग्रेस पाल्पाका सभापति हिमाल दत्त श्रेष्ठले स्वास्थ्य बीमा कार्यक्रम लागू भएका र कार्यान्वयन भएका अस्पतालहरुमा नियमित दाबी भुक्तानी गर्न आफूहरुले स्वास्थ्य बीमा बोर्डलाई ध्यानाकर्षण गराएको बताउनुभयो । सभापति श्रेष्ठले भन्नुभयो, ‘अस्पतालहरुले स्वास्थ्य बीमाको रकम उपलब्ध नभएको बहानामा जनतालाई सेवा नै नदिने घोषणा गर्न मिल्दैन । पार्टीको तर्फबाट हामीले प्रमुख जिल्ला अधिकारी तथा बीमा बोर्डसम्म कुराकानी गरिरहेका छौँ । बक्यौता रकम पनि किस्ता किस्तामा प्राप्त भइरहेकै छ ।’ २०७३/०७४ आर्थिक वर्षदेखिकै बक्यौता रहनुमा त्यस समयका सरकारको मुख्य जिम्मेवारी रहेको भन्दै वर्तमान सरकार आइसकेपछि एक किस्ता रकम भने भुक्तानी गरेको काँग्रेसले जनाएको छ । सभापति श्रेष्ठले भन्नुभयो, ‘अब उपचार पनि निरन्तर दिने र बक्यौता रकम पनि निकासा हुँदै जाने गरि व्यवस्थापन हुनु आवश्यक छ । यसमा काँग्रेस पाल्पाको गम्भीर ध्यानाकर्षण भएको छ, जनताले सेवा पाउनु नैसर्गिक अधिकार हो ।’ गत शुक्रबार युनाइटेड मिसन अस्पताल पाल्पाले सरकारले स्वास्थ्य बीमाका बिरामी उपचार खर्च वापत उपलब्ध गराउनुपर्ने १२ करोड ७ लाख ३७ हजार ५ सय ८७ बक्यौता रकम वैशाख ५ गतेसम्म उपलब्ध नगराए ६ गतेदेखि सेवा कटौती गर्ने भन्दै पत्रकार सम्मेलन गरेको थियो । त्यस्तै लुम्बिनी मेडिकल कलेज पाल्पा प्रभासले पनि गत कार्तिक महिना देखि सरकारले बक्यौता रकम उपलब्ध नगराएको भन्दै स्वास्थ्य बीमा गराएका बिरामीहरुको उपचार गराउन समस्या आएको जनाएको थियो ।
प्रकाशित मिति: मंगलबार, चैत २२, २०७८  १२:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update