Erani Mahal
लुम्बिनी प्रदेशको ३० प्रतिशत क्षेत्र अझै विद्युत विहीन
5c3538843c00006c061053dd
लुम्बिनी प्रदेशमा अझै ३० प्रतिशत क्षेत्रमा विद्युत पुगेको छैन । विद्युत विहीन रहेको क्षेत्रमा पाँच वर्षभित्र विद्युतीकरण गरिने बताइएको छ । १२ जिल्ला रहेको लुम्बिनी प्रदेशका पहाडी जिल्लाका कतिपय ठाउँमा विद्युत पुगेको छैन । लुम्बिनी प्रदेशको उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका अनुसार अझै पनि प्रदेशको ३० प्रतिशत क्षेत्रमा विद्युत पुग्न सकेको छैन । विद्युत नपुगेको क्षेत्रमा आगामी पाँच वर्षभित्र विद्युत सेवा विस्तार गर्नेगरी मन्त्रालयले योजना बनाएको उर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वीरबहादुर रानाले जानकारी दिनुभयो ।“विद्युत पुग्न नसकेको पाल्पाको निस्दी गाउँपालिकाबाट हामीले यो कार्यक्रम सुरु गर्दैछौं” रानाले भन्नुभयो । लुम्बिनी प्रदेशका १२ जिल्लामध्ये रुकुमपुर्वमा ८८.७५ प्रतिशत क्षेत्रमा अझै विद्युत पुग्न सकेको छैन । त्यस्तै रोल्पामा ५८ प्रतिशत, पाल्पामा २० प्रतिशत, गुल्मीमा २०, कपिलवस्तुमा १९, दाङमा १८, बाँकेमा १७, पश्चिम नवलपरासीमा १५, रुपन्देहीमा १३, अर्घाखाँचीमा ९, प्यूठानमा ९ र बर्दियामा ५ प्रतिशत क्षेत्र अझै पनि विद्युतविहीन छ । मन्त्रालयका सचिव दीपक घिमिरेका अनुसार ती क्षेत्रमा मन्त्रालयले योजनाबद्ध रुपमा विद्युतीकरणको काम अगाडि बढाएको जनाएको छ । “पाँच वर्षभित्रै मन्त्रालयले ती सबै क्षेत्रमा विद्युत विस्तारको काम सक्ने लक्ष्य लिएको छ । त्यसका लागि करिब तीन अर्ब रुपियाँ लाग्ने मन्त्रालयको अनुमान छ । विद्युतीकरणका लागि मन्त्रालयले आर्थिक, सामाजिक दृष्टिले पछाडि परेका सीमान्तकृत वा पिछडिएको क्षेत्रका समुदायलाई प्राथमिकतामा राख्दै कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको बताएको छ । प्रदेश सरकारको लक्ष्य पूरा गर्न पाँच वर्षमा करिब ७५० मेगावाट विद्युत थप गर्नु पर्ने छ ।
प्रकाशित मिति: आइतबार, चैत १३, २०७८  १६:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update