Erani Mahal
रामपुरमा प्रथम खुल्ला म्याराथन प्रतियोगिता पुरुषमा सोमै र महिलामा श्रेष्ठ प्रथम
ball (1)
पाल्पा- पाल्पाको रामपुरमा आयोजित प्रथम खुल्ला म्याराथन प्रतियोगिताको उपाधी पुरुष तर्फ राम बहादुर सोमै र महिला तर्फ अञ्जना श्रेष्ठले जितेका छन् । खेलकुद र युवा बर्गमा नयाँ उत्साह जगाउदै पहिचान कायम गर्न स्थानीय रामपुर युवा क्लबले म्याराथनको आयोजना गरेको हो । शनिवार बिहान११ किलोमीटरको दुरी निर्धारण गरि म्याराथन आयोजना गरिएको हो । प्रतियोगितामा निर्धारित दुरी ३९ मिनेटमा पूरा गर्दै पुरुष तर्फ राम बहादुर सोमैले उपाधी जिते भने सोही दुरीलाई ५९ मिनेट ४० सेकेन्डमा पूरा गरि महिला तर्फ अञ्जना श्रेष्ठले उपाधी हात पारिन् । निस्दी ३ झिरुवासका २० बर्षे युवा राम बहादुर हाल भारतीय सेनामा कार्यरत छन् । पुरुष तर्फ ३९ मिनेट २० सेकेण्डमा दुरी पार गर्दै विक्रम ढेंगा द्वितिय र ४० मिनेट १० सेकेण्ड दुरी पार गर्दै दिपक पुन तृतिय भएका छन् । महिला तर्फ १ घण्टा २० सेकेण्डमा दुरी पार गर्दै ममता थापा द्वितिय र १ घण्टा ५ मिनेट लगाएर दुरी पार गर्दै तारा सिंजाली तृतिय भए । प्रतियोगिताका महिला पुरुष तर्फका प्रथम, द्वितिय र तृतिय बिजेताले क्रमशः नगद ७ हजार, ५ हजार र ३ हजार सहित मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् । प्रतियोगितामा उत्कृष्ट १० भित्र आउन सफल प्रतियोगीलाई प्रमाणपत्र र दुरी पूरा गरि खेलमा उत्साह थपेका १० बर्ष मुनिका ४ बालकलाई सम्मान गरिएको क्लबका सचिव सुन्दर कंडेलले जानकारी दिनुभयो । १० बर्ष मुनिका बालक गोकुल राना समग्र ३९ औं नम्बरमा दुरी पार गरेका थिए । बिजेतालाई पुरस्कार प्रदान गर्दै रामपुर नगरपालिकाका नगर उपप्रमुख बिष्णुदेवी घिमिरे आचार्यले यस्ता कार्यक्रमले मनोबल बढ्ने बताउनुभयो । खेलकुदका कार्यक्रमलाई नगरपालिकाले निरन्तर सहयोग गरेको बताउदै उहाँले खेलकुदबाट नगरको पहिचान र व्यक्तिगत स्वास्थ्य फाइदाको लागि पनि प्रतियोगिताहरु महत्त्वपूर्ण हुने बताउनुभयो । म्याराथन रामपुर बेझाँड बजारबाट सुरु भई सदावर्त, मटेरी, भम्बक, आर्मी क्याम्प, तिलकपुर, तालपोखरा, विजयपुर, कालीआँप, बट्टार, डुम्रीगाँउ, किसानबारी, बेझाँड खेत हुँदै पुनःबेझाँड बजार सम्मको दुरी तोकिएको थियो । क्लवका अध्यक्ष छम बहादुर दरैको अध्यक्षतामा भएको म्याराथनमा जनप्रतिनिधि, उद्योगी, व्यबसायी, कर्मचारी, संघ सस्थाका प्रमुख प्रतिनिधि, युवा र विद्यार्थीहरु सहभागी भएका थिए । यस्तो किसिमको खुल्ला प्रतियोगिता पहिलोपटक आयोजना गरिएको र उत्साहजनक रुपमा झण्डै ५ सय बढीले सहभागीता जनाएकोमा आगामी दिनमा झनै व्यबस्थित गरि आयोजना गर्ने सोच लिएको अध्यक्ष दरैंले बताउनुभयो ।
प्रकाशित मिति: आइतबार, चैत १३, २०७८  ०८:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update