Erani Mahal
पाल्पाकाे सर्देवाबाट सीजीले क्लिङ्कर र सिमेन्ट उत्पादन गर्दै
CG Cemtn IMG_9512
पाल्पा – सिजी सिमेन्ट उद्योग पाल्पा प्रालिले जिल्लामै सिमेन्ट तथा क्लिङ्कर उत्पादनको अन्तिम तयारी थालेको छ । पाल्पाको रैनादेवी छहरा–२, सर्देवाफाँटमा स्थापित उद्योगले सिमेन्ट तथा क्लिङ्कर उत्पादन गर्ने अन्तिम तयारी गरेको हो । दैनिक चार हजार मेट्रिकटन क्लिङ्कर तथा तीन हजार मेट्रिक टन सिमेन्ट उत्पादन गर्ने लक्ष्यका साथ उद्योग सञ्चालनको अन्तिम चरणमा पुगेको प्रालिले जनाएको छ । उद्योग सञ्चालनसम्मको अबधिमा १२ अर्ब ७३ करोड रुपियाँ लगानी पुग्ने प्रोजेक्ट प्रमुख यशपाल शर्माले जानकारी दिनुभयो । ‘हालसम्म यो प्रोजेक्टको लगभग काम सम्पन्न भइसकेको छ प्रोजेक्टका प्रमुख यशपाल शर्माले भन्नुभयो केही दिनभित्रै सञ्चालनको तयारीमा छौँ ।’ उद्योगबाट दैनिक चार हजार टन क्लिङ्कर तथा तीन हजार टन सिमेन्ट उत्पादन हुने उहाँले जानकारी दिनुभयो । सर्देवा फाँटमा उद्योग स्थापनाको काम विगत चार वर्षदेखि हुँदै आएको थियो । उद्योगले सर्देवा फाँटमा करिब चार सय २० रोपनी जग्गा अधिकरण गरेको थियो । उद्योगका लागि अन्य आवश्यक जग्गा समेत अधिकरण गर्ने काम भईरहेको उक्त प्रालिले जनाएको छ । सिजी सिमेन्ट प्रालिले उद्योग स्थापनाका लागि दश वर्षअघि रिब्दीकोटको देउरालीस्थित डम्बक फाँटमा चार सय रोपनी जग्गा लिइसकेको थियो । यद्यपी उक्त स्थानमा उद्योग स्थापना तथा सञ्चालन गर्न जग्गा प्राविधिक रुपमा उपयुक्त नभएपछि उद्योग स्थापनामा ढिलाई भएको थियो । सिमेन्ट उत्पादनका लागि आवश्यक मुख्य कच्चा पदार्थ चुनढुङ्गा उत्खनन्का लागि समेत प्रालि रैनादेवी छहराको सिद्धेश्वर र रिब्दीकोटको देउराली, ख्याहा क्षेत्रमा अनुमति लिइसकेको छ । क्लिङ्कर तथा सिमेन्ट उत्पादनका लागि आवश्यक रातो माटो, कोइलाजस्ता कच्चा पदार्थको समेत जिल्लाभित्रै खोजी भएर ल्याब परीक्षण भइसकेको उद्योगले जनाएको छ । उद्योग स्थापनापछि चार सय बढी मानिसले प्रत्यक्ष र अप्रत्यक्ष रुपमा रोजगारी पाउने उद्योगको भनाई छ । हाल उद्योग स्थापनाको क्रममा पनि प्रत्यक्ष र अप्रत्यक्ष रुपमा दुई सय बढी कामदारले काम पाइरहेको र उद्योग सञ्चालनपछि रोजगारी पाउने मानिसको सङ्ख्या बढ्ने प्रोजेक्ट प्रमुख शर्माले जानकारी दिनुभयो । ग्रामीण क्षेत्रमा पनि उद्योग गर्न धेरै महङ्गो र जोखिम भएपनि यस क्षेत्रमा उद्योग स्थापना हुनु राम्रो भएको प्रालिका कर्मचारीको भनाई छ । प्रालिले वातावरणीय प्रदुषण नियन्त्रण गर्न र स्थानीय प्रभावित क्षेत्रका जनतालाई स्वरोजगार बनाउन प्राथमिकता दिने उद्योगका प्रवन्धक नारायण पाण्डेयले जानकारी दिनुभयो । पाल्पाको तिनाउ, रैनादेवी छहरा, निस्दी र माथागढीमा गरी हाल १० वटा चुनढुङ्गा खानी सञ्चालनमा रहेका छन् । हाल अधिकांश खानीबाट चुनढुङ्गा रुपन्देही, नवलपरासी लगायतका स्थानका उद्योगमा पुगेको छ ।
प्रकाशित मिति: बुधबार, चैत ९, २०७८  १२:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update