Erani Mahal
पाल्पालाई बिच भलिबलको ‘हब’ बनाउन सकिने   : सचिव रेग्मी
damodar regmi
पाल्पा- युवा तथा खेलकुद मन्त्रालयका सचिव डाक्टर दामोदर रेग्मीले पाल्पालाई बिच भलिबलको ‘हब’ बनाउन सकिने बताएका छन् । यही चैतकाे अन्तिम हप्ता पाल्पाको रानीमहलमा हुने राष्ट्रिय बिच भलिबल प्रतियोगिताको आयोजक कमिटिसँगकाे छलफलका क्रममा सचिव रेग्मीले पाल्पालाई बिच भलिबलको ‘हब’ बनाउन सकिने सम्भावना रहेको बताउनुभएकाे हाे । सञ्जय स्मृति प्रतिष्ठानको आयोजनामा चैतको अन्तिम साता पाल्पाको तानसेनस्थित रानीमहलमा सञ्जय स्मृति राष्ट्रिय महिला बिच भलिबल प्रतियोगिता आयोजना हुदैछ । प्रतियोगितालाई सफलता पूर्वक सञ्चालन गर्ने सन्दर्भमा आयोजक समितिले सचिव रेग्मीसहित सराेकारवालाहरूसँग छलफल गरेका हुन् । ‘बिच भलिबलको इतिहास लामो छ । यो नेपालको सम्भावना भएको खेल पनि हो ।’ रेग्मीले भन्नुभयाे, ‘समुद्री तटको किनारामा रहेको बालुवामा खेल्ने भएपनि प्राकृतिक रुपमा नेपालको धेरै जसो नदी नालाको किनारामा यसलाई खेल्न सकिन्छ । त्यसैले यस खेलको सम्भावना धेरै देख्छु ।’ उनले पाल्पाको रानीमहलमा हुने बिच भलिबल प्रतियोगिताले राष्ट्रिय खेल भलिबललाई थप लोकप्रिय बनाउन मदत गर्ने बताउनुभयाे । ‘कालीगण्डकी करिडोर बिच खेलको सम्भाव्य गन्तव्य हो । यसलाई निरन्तर रुपमा आयोजना गर्न सकियो भने बिच भलिबलको हब बन्ने सम्भावना देख्छु, त्यसका लागि आवश्यक पहल हुन आवश्यक छ ।’ उहाँले भन्नुभयाे । मन्त्रालयले समेत यसलाई गम्भिरताकाे साथ हेरेको उल्लेख गर्दै सचिव रेग्मीले प्रतियोगितालाई सफल बनाउन मन्त्रालयको सहयोग रहने प्रतिबद्धता जनाएका थिए ।छलफलमा सहभागी पर्वतीय खेलकुद महासंघका अध्यक्ष गोबिन्द भट्टराईले बिच र पानीमा खेलिने खेलको नेपालमा प्रचुर सम्भावना रहेको उल्लेख गर्दै यसमा राज्यले ध्यान दिनुपर्ने बताउनुभयाे । पाल्पाली संगमका अध्यक्ष पदम न्यौपानेले रानीमहलमा हुने बिच भलिबलको आयोजनाबाट त्यस क्षेत्रमा खेल पर्यटनले फड्को मार्ने विश्वास ब्यक्त गरे । प्रतियोगिताका सद्भावना दुत नायक धिरेन शाक्यले खेलकुदको माध्यमबाट दिने सन्देश प्रभावकारी रहने उल्लेख गर्दै सम्बन्धित मन्त्रालयले पनि यसमा अग्रसरता लिनुपर्ने धारणा राखेका थिए । राखेप कार्यकारी बोर्ड सदस्य एकेन्द्र कुँवरले राष्ट्रिय बिच भलिबल प्रतियोगिताको आयोजनाबाट सिंगो भलिबल क्षेत्र उत्साहित भएको बताउदैे परिषद्को तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्वता जनाउनुुभयाे । आयोजक संस्थाकी अध्यक्ष एवंम नेपाल भलिबल संघकी उपाध्यक्ष निरोज मास्केले प्रतियोगिताको औचित्यमाथि प्रकाश पार्दै प्रतियोगिताको आयोजनाबाट खेलकुदमात्र नभएर त्यस क्षेत्रको पर्यटन प्रबद्र्धनमा सहयोगमा पुग्ने विश्वास व्यक्त गर्नुभयाे ।
प्रकाशित मिति: आइतबार, चैत ६, २०७८  ०९:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update