Erani Mahal
‘प्रकाश सपुतको गीतले जनयुद्धको विरोध गरेको छैन, अपूर्ण क्रान्तिको पीडा दर्शाएको छ’
FB_IMG_1647137188402-1-1024x536
प्रकाश सुपतको ‘पीर’ नामक गीतमाथि माओवादी निकटस्थहरुले तिखो टिप्पणी गरिरहेका बेला जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले गीतमा आपत्ति मान्नुपर्ने कुरा नरहेको बताउनुभएको छ । उहाँले यो गीतले अपूर्ण क्रान्तिको पीडा दर्शाएको र त्यस निम्ति क्रान्तिलाई नयाँ ढंगबाट अगाडि बढाउनुपर्ने बताउनुभयो । गत शुक्रबार सार्वजनिक भएको गीतमा १० वर्ष सशस्त्र द्वन्द्वको नेतृत्व गरेको नेकपा माओवादी हाल (नेकपा माओवादी केन्द्र)माथि समीक्षा गरिएको छ । तत्कालीन अवस्थामा लडाइँमा होमिएका छापामारको पीडा गीतमा पोखिएको छ । यो गीतमा वैदेशिक रोजगारीको पीडादेखि देहव्यापारसम्मलाई दृष्टान्त बनाइएको छ । तर, यसमाथि टिकाटिप्पणी भइरहेका बेला पूर्वमाओवादीसमेत रहेका भट्टराईले धारणा सार्वजनिक गर्नुभयो । उहाँले ट्वीटरमा लेख्नुभएको छ ‘म पनि जनयुद्धको एक अगुवा हुनुको नाताले प्रकाश सपुतको गीतमा टिप्पणी गर्ने अधिकार राख्छु र भन्छु त्यसमा आपत्ति मान्नुपर्ने कुरा छैन । गीतले जनयुद्धको विरोध गरेको छैन । अपूर्ण क्रान्तिका पीडा दर्शाएको छ । त्यस निम्ति क्रान्तिलाई नयाँ ढंगले अगाडि बढाउने पो हो । गीतका सर्जकलाई किन धम्काउने ?’
प्रकाशित मिति: आइतबार, फागुन २९, २०७८  १२:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update