Erani Mahal
पाल्पामा छायाँङ्कन गरिएको ‘परदेशी–२’ को पोष्टर रिलिज
pardeshi 2 poster first look final
पाल्पा – पाल्पाका विभिन्न स्थानमा छायाँकन गरिएको नारायण रायमाझी निर्देशित चलचित्र आगामी दशैंको अवसरमा प्रदर्शनमा आउने पक्का भएको छ । बहुप्रतिक्षित नेपाली कथानक चलचित्र ‘परदेशी –२’ आउँदो दशैंमा प्रदर्शनमा आउने भएको हाे । नारायण ईन्टरनेशनल प्रा.लिको ब्यानरमा राजेश वंशल र नारायण रायमाझीलाई चलचित्रलाई निर्माण गर्नुभएको हो । चलचित्रको बुधबार फष्र्टलुक पोष्टर सार्वजनिक गर्दै चलचित्र दशैंमा प्रदर्शन गर्ने घोषणा गरिएको हो । सार्वजनिक पोष्टरमा चलचित्रमा शीर्ष भूमिकामा रहेका प्रकाश सपूत, दीलिप रायमाझी, प्रशान्त तामाङ, केकी अधिकारी र वर्षा शिवाकोटीलाई प्रस्तुत गरिएको छ । ‘परदेशीले चाडपर्वमा आफ्नो गाउँ, परिवारलाई अझ बढी सम्झन्छन । र, यो चलचित्र परदेशीकै कथा–ब्यथा भएकाले प्रदर्शनका लागि दशैंलाई रोज्नुपरेको हो’– निर्माता राजेश वंशलले भन्नुभयाे । रमेश बि.जी.को कथा रहेको चलचित्रमा प्रकाश, दीलिप, प्रशान्त, केकी र वर्षाका साथमा नीर शाह, सुशिल पोख्रेल, सविन बास्तोला, रमा थपलिया, भीमा मैनाली, रोशनी कार्की, देबेन्द्र बब्लु लगायतका कलाकारहरुले अभिनय गर्नुभएकाे छ । चलचित्रको गत वर्ष पाल्पाको माथागढी गाउँपालिकाको झडेवा देवगीर, कसेनी, सराई लगायतका स्थानमा छायाँकन गरिएको थियो । चलचित्र छायाँकनका लागि निर्देशक नारायण रायमाझी, अभिनेता दीलिप रायमाझी, प्रशान्त तामाङ्ग, प्रकाश सपूत, अभिनेत्री केकी अधिकारी, कलाकार नीर शाह, रमा थपलिया, देबेन्द्र बब्लू लगायत पाल्पामा आउनुभएको थियो । पाल्पाको झडेवामा जन्मिनुभएका निर्देशक रायमाझीले आफ्ना यसअघिका चलचित्र ‘गोर्खा पल्टन’ र ‘परदेशी’ पनि पाल्पामा छायाँकन गर्नुभएको थियो । दुबै चलचित्र अत्यन्तै प्रतिकूल समयमा प्रदर्शनमा आएपनि सुपरहिट भएका थिए । ‘विगतका चलचित्रमा देखिएका तर दर्शकको मायाले छोपिएका प्राविधिक, सांगीतिक लगायतका कमीकमजोरीहरुलाई समेत यो चलचित्रमा मसिनोगरी केलाउन पाएका छौं’ निर्देशक रायमाझीले भन्नुभयाे, ‘त्यसैले बिगतका दुई चलचित्रहरुको दाँजोमा ‘परदेशी –२’ अझ राम्रो, नेपाली दर्शकले आत्मसाथ गर्ने चलचित्र बनेको छ ।’ बि.बि. अनुरागीको संगीत, गोबिन्द राई र रामजी लामिछानेको कोरियोग्राफी रहेको चलचित्रका गीतमा नारायण रायमाझी, प्रशान्त तामाङ्ग, निशान भट्टराई, प्रताप दास, मीना निरौला, टीका पुन, देवी घर्ती, थानेश्वर गौतम, जय देवकोटा लगायतले स्वर दिनुभयाे । सुदिप कुँवरको सह–निर्देशन रहेको चलचित्रमा अष्ट महर्जनको द्धन्द्ध, मानकृष्ण महर्जनको छायाँकन तथा दीर्घ खड्काको सम्पादन छ । चलचित्रमा ईश्वर घिमिरे/रामहरी डंगोलको पोष्ट प्रोडक्सन, मनोज श्रेष्ठको भि.एफ.एक्स, राजेन्द्र मोक्तानको कलर, श्यामश्वेत रसाईलीको गीत तथा साउण्ड मिक्सिङ्ग छ ।
प्रकाशित मिति: बुधबार, फागुन २५, २०७८  १३:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update