Erani Mahal
नेपालमा मुख र घाँटीको क्यान्सर बढ्दै, सुर्ती र मदिरा प्रमुख कारण
621329cd7ee34_cancer
पछिल्लो समय मुख तथा घाँटीको क्यान्सर बढ्दै गएको छ । क्यान्सर भएका मध्ये १५ देखि २० प्रतिशतमा मुखको क्यान्सर देखिने चिकित्सक बताउँछन् । २०१८ को तथ्याङ्कलाई आधार मान्ने हो भने नेपालमा एक वर्षमा २५ सयको हारहारीमा मुखको क्यान्सरका बिरामी फेला पर्ने गरेका छन् । विश्वमा मुखको क्यान्सर प्रमुख १० नम्बरमा पर्ने गर्दछ । नेपालमा र भारतमा मुखको क्यान्सर धेरै जनामा देखिने गरेको छ । नेपालमा विश्व स्वास्थ्य सङ्गठनले गरेको सर्वेक्षणमा महिलामा पाठेघर र स्तन क्यान्सरपछि प्रमुख क्यान्सर मुखको क्यान्सर देखिएको छ । त्यस्तै महिलामा पाठेघरको मुखको, स्तन र फोक्सोपछि मुख तथा घाँटीको क्यान्सर देखिने उक्त सर्भेक्षणले देखाएको छ । सुरुमै यसको पहिचान गरेर उपचार गरे ९५ प्रतिशत मुखको क्यान्सर लाग्नबाट बच्न सकिने आँखा,नाक मुखरोग विशेषज्ञ डा. प्रकाश बुढाथोकी बताउनुहुन्छ । डा. बुढाथोकीका अनुसार मुखको क्यान्सर भएका बिरामीमध्ये ९० प्रतिशत मानिस अन्तिम अवस्थामा मात्र अस्पतालमा पुग्ने गर्दछन् । ‘मुखको क्यान्सर हुनुभन्दा पहिले मुखभित्र निको नहुने घाउ आउने, रगत बग्ने,दाग धब्बा देखिने जस्ता लक्षण देखिन्छन्’,उहाँले भन्नुभयो, ‘ आफ्नो मुखमा घाउ खटिरा आएमा तुरुन्त स्वास्थ्य संस्थामा गरे जाँच गर्ने हो भने ९५ प्रतिशत मुखको क्यान्सर लाग्नबाट जोगिन सकिन्छ ।’ के हो मुखको क्यान्सर ? ओरल सर्जन प्रा. डा. सुदीप आचार्यका अनुसार मुखमा घाउ आउने,गिजा कुहिने र घाउ खटिरा आएर अस्वाभाविक अनियन्त्रित र असामान्य किसिमको वृद्धि हुनुलाई मुखको क्यान्सर भनिन्छ । घाउ,खटिराको आकार–प्रकारमा वृद्धि भैरह्यो र २–३ हप्तासम्म पनि निको नभए मुखको क्यान्सर हुन सक्ने डा. आचार्य बताउनुहुन्छ । मुखको क्यान्सरको कारण मुखको क्यान्सर भएका बिरामीमा ९० प्रतिशतभन्दा बढी बिरामीले सुर्तीजन्य पदार्थको सेवन गरेको देखिन्छ । सुर्ती र पान दुवै खानेमा मुखको क्यान्सर २० देखि ३० गुणा बढी देखिने चिकित्सक बताउँछन् । सुर्तीजन्य पदार्थले क्यान्सर बनाउने हजारौं रसायन बनाउने र ४५ तत्व सिर्जना गर्ने भएकाले मुखको क्यान्सर हुने सम्भावना हुन्छ । रक्सी पिउँदा क्यान्सर हुने सम्भावना १५ गुणा बढी हुने चिकित्सक बताउँछन् । पोषणको कमी आइरन, भिटामिन ए, ई र सी को कमीले पनि मुखको क्यान्सर हुने डा. आचार्य बताउनुहुन्छ । दाँतको समस्या, फोहोर मुख, विभिन्न भाइरलको सङ्क्रमण, ब्याक्टेरिया र फङ्गल सङ्क्रमणले पनि मुखको क्यान्सर गराउन सक्ने डा. बुढाथोकीले जानकारी दिनुभयो । डा. बुढाथोकीका अनुसार सूर्यको प्रकाशबाट आउने अल्ट्राभाइलेट विकिरण र एक्सरेले पनि मुखको क्यान्सर हुने उच्च सम्भावना हुन्छ । त्यो बाहेक धूमपान, पान गुड्का, सुपारी खानाले पनि मुखको क्यान्सर हुने चिकित्सक बताउनुहुन्छ । मुखको क्यान्सरका लक्षण मुखमा रातो, खैरो, सेतो वा मिश्रित दाग, धब्बा वा पत्र देखिन्छ । घाँटीमा गिर्खाहरु देखापर्नु, नदुख्ने वा दुख्ने घाउ आउनु, खटिरा देखिनु, अस्वभाविक रक्तस्राव हुनु, मसलादार खाना खाँदा पोल्नु, खान, निल्न, पिउन अप्ठ्यारो हुनु, घाउ तथा खटिराको आकार बढ्दै जानु, र्याल बढी आउनु मुखको क्यान्सरको लक्षण भएको चिकित्सकको भनाइ छ । मुखको क्यान्सरका रोकथामका उपाय समयमै उच्च सावधानी अपनाए मुखको क्यान्सरको रोकथाम पनि गर्न सकिने चिकित्क बताउँछन् । मुखमा भएका परिवर्तन, घाउ खटिरा, दाग सजिलैसँग घरमा नै मुख धुँदा दाँत माझ्दा पहिचान गरी निदान गर्न सकिने चिकित्सक बताउँछन् । चिकित्सकका अनुसार सुर्तीजन्य पदार्थ र मद्यपान सेवन नगरे, सङ्क्रमण भए उपचार गरेमा दीर्घकालीन चोटपटक, घर्षणबाट मुक्त रहन सकेमा, राम्रोसँग मुखको सफाइ तथा बेलाबेलामा कुल्ला गर्ने गरेमा, दाँतको समस्याको बेलैमा उपचार गरेमा मुखको क्यान्सरबाट बच्न सकिन्छ ।
प्रकाशित मिति: सोमबार, फागुन ९, २०७८  १६:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update