Erani Mahal
न्यौपाने र श्रेष्ठलाई २०७७ सालको धवल पुरस्कार प्रदान
mm
पाल्पा - पूर्वखोला ३ रिङ्नेरह निवासी नीलकण्ठ न्यौपाने र तानसेन ३ निवासी निर्मल श्रेष्ठलाई २०७७ सालको धवल पुरस्कार प्रदान गरिएको छ । धवल पुस्तकालयको पुस्तक पढ्ने दलानमा आयोजित समारोहमा नेपाल प्रज्ञाप्रतिष्ठानका प्राज्ञ बुँद रानाले न्यौपाने र श्रेष्ठलाई धवल पुरस्कार प्रदान गर्नुभएको हो । वरिष्ठ साहित्यकार नीलकण्ठ न्यौपानेलाई साहित्य, कला र पुर्वीय वाङमयका क्षेत्रमा दीर्घ साधना गरेवापत र निर्मल श्रेष्ठलाई सांस्कृतिक नगर तानसेन The living museum कृतिका लागि २०७७ सालको धवल पुरस्कार प्रदान गरिएको छ । दुबै पुरस्कारको राशी २५ हजार रूपैयाँ नगद र प्रमाणपत्र रहेका छन् । कार्यक्रममा प्रमुख अतिथि रानाले पाल्पा दुई साधकलाई पुरस्कृत गरेर धवलले गरिमा बढाएको बताउनुभयो । उहाँले धवल पुस्तकालय राष्ट्रकै गौरव भएको र धवल पुरस्कार स्थापना गरेर अझ सबल र अब्बल बन्ने दिशामा अगाडि बढेको बताउनुभयो । कार्यक्रममा प्राध्यापक डा हिरण्य ज्ञवालीले नीलकण्ठ न्यौपाने र निर्मल श्रेष्ठको छनौट साहित्य र अनुसन्धानकर्ताको सम्मान भएको बताउनुभयो । त्रिभुवन बहुमुखी क्याम्पसका प्रमुख टंक भट्टराईले धवल पुरस्कार स्थापना र पाल्पामा बसेर राष्ट्रिय योगदान गरेका व्यक्तिलाई प्रदान गरेर धवलले ऐतिहासिक काम गरेको बताउनुभयो । पुरस्कृत व्यक्तित्व नीलकण्ठ न्यौपानेले धवल पुरस्कारले आफूलाई अझ साधनाका लागि उत्प्रेरित गरेको बताउनुभयो ।उहाँले समाजमा पठित, शिक्षित र दीक्षित गरी तीन प्रकारका व्यक्ति रहेको, अहिले विधि र पद्धतिले गर्दा ज्ञानी मानिसको अभाव हुन थालेको बताउनुभयो । अर्का पुरस्कृत व्यक्तित्व निर्मल श्रेष्ठले धवलको यो कार्यले यसको इतिहास र गरिमा अझ बढेको बताउनुभयो । कार्यक्रममा नेपाली काँग्रेसका सभापति हिमालदत्त श्रेष्ठ, डा. रामप्रसाद ज्ञवाली, मन गहिरे, मेघराज शर्मा, टंक पन्थ, केशव पौडेललगायतले शुभकामना व्यक्त गर्नुभयो । धवल पुस्तकालयका महासचिव राजेशकुमार अर्यालको सञ्चालन र अध्यक्ष युवराज पौड्यालको अध्यक्षतामा कार्यक्रम चलेको थियो ।
प्रकाशित मिति: शनिबार, फागुन ७, २०७८  २०:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update