Erani Mahal
रैनादेवी छहरामा शिक्षक कर्मचारीकाे तलब १५ हजार बनाउन माग गर्दै आन्दाेलन
10_0
पाल्पा – जिल्लाको रैनादेवी छहरा गाउँपालिकाभित्र कार्यरत विद्यालय कर्मचारी, बाल शिक्षक, कार्यलय सहयाेगी र सहजकर्ताहरुले नेपाल सरकारले ताेकेकाे न्युनतम पारिश्रमिक गाउँपालिकाले नदिएको भन्दै धर्नामा बसेका छन् । बुधवार पालिकाकाे कार्यालय अगाडि उनीहरू धर्नामा बसेका थिए । गत जेठ १५ मा बजेट भाषण मार्फत नेपाल सरकारले ताेकेकाे पारिश्रमिक रु १५ हजार गाउँपालिकाले नदिएको, थाेरै तलबमा काम गराइ श्रमशाेषण गरेको, पालिकाभित्र रहेका शिक्षक संघ/सङगठनहरुले माग पूरा गर्न पहल कदमी नदेखाएको उनीहरूकाे भनाइ छ । जिल्लाका अन्य पालिकाहरुमा सरकारले ताेकेकाे तलव लागू भएपनि रैनादेवी छहरामा उक्त तलबमान लागू नभएकाले माघ मसान्तसम्म पूरा गर्न उनीहरूले माग गरेका छन् । सरकारले ताेके अनुसारकाे सुबिधा माग सम्बाेधन नभए थप आन्दाेलन चर्काउने उनीहरूले चेतावनी दिएका छन् । जिल्लाभरका अधिकांश पालिकाले गत साउनदेखि नै १५ हजार तलबमा काम गरिरहेका छन्, हाम्राे पालिकामा सरकारले ताेकेकाे मापदण्ड पूरा गर्न आनाकानी भइरहेकाे भैरब नवदीप मावि छहरामा कार्यरत बालशिक्षिका रञ्जना रायमाझी रानीमहललाइ बताउनुभयो । उता पालिकाका अध्यक्ष रामबहादुर कार्कीले भने स्राेत अभावमा तलबभत्ता १५ हजार पुर्याउन नसकेकाे बताउनुभयाे । उहाँले याे वर्ष १० हजार र आगामी वर्ष बढाउँदै जाने जानकारी दिनुभयाे । पाल्पामा बगनासकाली, तानसेन, रामपुर लगायतका पालिकाले भने यसअघि नै बालशिक्षक सहयाेगी कार्यकर्ता, सिकाइ केन्द्रका सहजकर्ता, कार्यालय सहयाेगीलगायतका तलब १५ हजार दिइरहेकाे छ ।
प्रकाशित मिति: बुधबार, माघ २६, २०७८  २१:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update