Erani Mahal
तरकारी खेतीबाट लाखौं कमाउन सफल पाल्पा निस्दीका शेरबहादुर
tarkari ma sotii
पाल्पा - हिजोआज गाउँमा युवा भेटिन गाह्राे छ । धेरैजसो गाउँमा उमेर पुगेका बुढापाका र केटाकेटी मात्र छन् । गाउँका खेतबारी र जग्गा जमिन बाँझो बनेका छन् । मिहिनेत गर्न सक्ने र जाेशजाँगर भएका अधिकांश युवा खाडी, युराेप अमेरिकातिर होमिएका छन् । पैसा कमाउने पहिलो स्थान विदेशनै बनाएका छन । गाउँमै बसेर केही पेसा व्यवसाय गरी परिवारसँगै रमाउनेहरु कमै मात्र भेटिन्छन् । तर पाल्पाकाे निस्दी गाउँपालिकामा भने एक जना युवाा विदेश हाेइन, स्वदेशमै केही गर्न सकिन्छ भन्ने गतिलाे उदाहरण बन्नुभएकाे छ । गाउँमै बसेर पनि विदेशमा भन्दा राम्राे कमाइ गर्न सफल हुनुभएकाे छ, निस्दीका शेर बहादुर सोती । निस्दी गाउँपालिका-५, गल्धा गेझाका शेरबहादुर व्यावसायिक तरकारी खेती गरेर मनग्ये आम्दानी गर्न सफल हुनुभएको छ । उमेरले ४३ वर्ष पुग्नुभएका सोतीको राम्राे कमाउने आधार बनेकाे छ, तरकारी खेती । सोतीले तरकारी खेतीबाट छोराछोरीको पढाई र घर खर्च कटाएर वार्षिक ३ लाख बढी शुद्ध बचत गर्न सफल हुनुभएकाे छ । घरमा आमा, श्रीमती, बाहिनी, २ छोरीहरु र १ छोरा बुहारी सहितको सबै परिवार तरकारी खेतीको काममै व्यस्त हुनुहुन्छ । उहाँले तरकारी खेती गरेर दैनिक ज्यालादारीमा ३ जना गाउँलेलाई रोजगार समेत दिनुभएकाे छ । आफ्नो २० रोपनी जग्गामा २७ वटा स्थायी टनेल निर्माण गरेर सोतीले तरकारी खेती गर्दै आउनुभएको छ । सिंचाइको लागि आडैमा ५ फिट गहिरो स्थायी टंकी रहेको छ । पैसा कमाउनको लागि शुरुमा आफू पनि विदेशमै गएको सोती बताउनुहुन्छ । बहराइनमा २ वर्ष काम गरेर फर्कनुभएका सोतीले गाउँमै ४ वर्ष होटल व्यवसाय गरेको बताउनुहुन्छ । तर हाेटलबाट पनि खासै उपलब्धि नभएपछि अन्तमा सोतीले तरकारी खेती रोजेको र अहिले सन्तुष्ट रहेको बताउनुभयाे । शुरूवातमा आफ्नै खर्चले तरकारी खेती सम्बन्धि ५१ दिनको तालिम लिएर तरकारी खेती शुरु गरेको सोती बताउनुहुन्छ । २०७० सालबाट तरकारी खेती शुरु गरेको सोतीले २०७५ सालमा घरेलु तथा साना उद्योग कार्यालय पाल्पामा धर्तीमाता कृषि फर्म व्यवसाय दर्ता गर्नुभएको छ । सोतीको मिहेनत र लगनशील देखेर पालिकाले पनि सहयोग गरेको छ । निस्दी गाउँपालिका पाल्पाबाट अहिलेसम्म प्लास्टिक टनेल निर्माणको लागि ३ लाख रुपैयाँ र कृषि प्राविधिकहरुबाट नियमित सुझाव सल्लाह पाएको सोती बताउनुहुन्छ । त्यस्तै कृषि ज्ञानकेन्द्र पाल्पाबाट बेलाबेलामा निशुल्क तालिम लिने अवसर समेत पाएको।बताउनुहुन्छ । त्यसैगरी जापानीज समाजसेवी काजुमासा काकिमी (ओके बाजेले) समेत टनेलको लागि फलामको खम्बा खरिद गर्न १ लाख ५० हजार रुपैयाँ सहयोग गरेको सोतीले बताउनुभयाे । सोतीले निश्चित लक्ष्य लिएर तरकारी खेती गर्दै आएको र यस वर्ष १०० क्विन्टल टमाटर र १०० क्विन्टल काँक्रो उत्पादन गर्ने योजना रहेको बताउनुहुन्छ । सोतीले विशेषगरी टमाटर, काँक्रो, च्याउ, भेडेखुर्सानी, काउली र बन्द लगाउदै आउनुभएको छ । यी बाहेक अन्य तरकारी बाली प्याज, खुर्सानी, करेला, लसुन, आलु, घिरौला पनि लगाउने गरेको सोती बताउनुहुन्छ । सोतीले तरकारीको नर्सरी राखेर विरुवा समेत तयार पार्नुहुन्छ । सोतीको नर्सरीमा प्रायः सबै प्रकारका तरकारीको बिरुवा पाइन्छ । हिजोआज उत्पादन गरेको तरकारी बिक्रीको लागि बजारको समस्या नरहेको सोती बताउनुहुन्छ । शुरुशुरुमा थोरै उत्पादन हुँदा बजारको समस्या भएता पनि अहिले धेरै उत्पादन भएपछि सबै उत्पादन फोनकै भरमा बिक्री हुने सोती बताउनुहुन्छ । ग्राहक एवं तरकारी व्यापारीहरु आफ्नै घरमा आएर गाडीबाट उत्पादित सामग्री लैजाने गरेको सोतीले बताउनुभएको छ । सोतीले उत्पादन गरेको तरकारी पाल्पाको रामपुर नगरपालिका, बुटवल र स्थानीय बजारमै बिक्री हुने गरेको छ । अहिले सोतीको फर्ममा जनता माध्यमिक विद्यालय गल्धा ढुंगाना वेशीका कृषि विषयमा अध्ययनरत विद्यार्थीहरु ओजिटीका लागि आउने गरेका छन् । यसले गर्दा आफुलाई धेरै फाइदा पुगेको र आफुले जानेको सीप विद्यार्थी भाइबहिनीलाई सिकाउन पाउँदा साह्रै आनन्द मिलेको सोती बताउनुहुन्छ । भविष्यमा सोतीले तरकारी खेतीको अझै विस्तार गर्ने योजना रहेको बताउनुहुन्छ । आफ्नो सबै जग्गामा तरकारी खेती मात्रै गर्ने र चाँडै नै टनेलको संख्या २७ बाट ५० पुर्याउने सोती बताउनुहुन्छ । सोतीले जिन्दगीमा धेरै दुख कष्ट भोग्नुपरेको बताउनुहँदै अब संधैभरी यहीँ तरकारी खेतीमै रमाउने बताउनुहुन्छ । हामी पैसाको लागि देश-विदेश अनेक ठाउँमा पुग्छौं तर आफ्नै ठाउँमा केहि गर्नुपर्छ भन्ने सोचाइ प्रायः कमैको मात्र हुन्छ । उमेर छाउन्जेल अनेक ठाउँमा हाट हाल्न खोज्छौं तर दिगोपन दिन सकिन्न । आफ्नै गाउँठाउँमा परिवारसँग बसेर परिश्रम गर्न पछाडि हाट्छौं तर विदेशमा भने जस्तोसुकै काम गर्न पनि तयार हुन्छौं । साँच्चिकै अब तपाईं हामीले पनि आफ्नै गाउँमा बसेर केहि गर्ने कि ! सोतीले जस्तै मिहिनेत र परिश्रम गरेर आफ्नो परिवारसँग गाउँमै बस्ने अठोट गर्ने की ?
प्रकाशित मिति: बुधबार, माघ १९, २०७८  ११:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update