Erani Mahal
पाल्पाका प्रजिअकाे नेतृत्वमा तानसेनका फार्मेसी पसलमा अनुगमन
20220126_140816
पाल्पा – बजारमा पारासिटामोल, मास्क, स्यानिटाइजरकोे अभाव भएको गुनासो आएपछि तानसेन बजारका औषधि पसल तथा अस्पतालमा अनुगमन गरिएको छ । जिल्ला सदरमुकाममा रहेका फार्मेसी पसल, अस्पताल तथा मेडिकल हलमा पाल्पाका प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तको नेतृत्वमा बुधबार अनुगमन गरिएको हो । कोरोना सङ्क्रमणको तेस्रो लहर सुरु भए यता बजारमा पारासिटामोल, मास्क र स्यानिटाइजरको अभाव भएको गुनासो आएपछि अनुगमन गरिएको हो । अनुगमनका क्रममा केही स्थानमा पारासिटामोल मौज्दात रहेको पाइएपनि केही अधिकांश निजी फार्मेसीमा भने दुई सातादेखि प्यारासिटामोल अभाव रहेको पाइएको प्रमुख जिल्ला अधिकारी पन्तले जानकारी दिनुभयो । तानसेन बजारका दुई वटा अस्पतालसहित आठ वटा फार्मेसीमा गरिएको अनुगमनका क्रममा अधिकांशमा पारासिटामोल मौज्दात नरहेको स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डा. राजेन्द्र गिरीले जानकारी दिनुभयो । तानसेनस्थित शुभम मेडिकल हल, पाल्पा अस्पताल तथा लुम्विनी मेडिकल कलेजमा भने पारासिटामोल मौज्दात रहेको उहाँले जानकारी दिनुभयो । देशभरजस्तै पाल्पामा पनि प्यारासिटामोल, मास्क र स्यानिटाइजरमा कृत्रिम अभाव सिर्जना गरिएको गुनासो आएपछि बजार अनुगमन गरिएको पाल्पाका प्रजिअ पन्तले बताउनुभयो । तानसेनको शित्तलपाटी, टक्सारटोल सिल्खानटोल लगायतका स्थानमा रहेका मास्क, स्यानिटाइजर बिक्री गर्ने पसलमा समेत अनुगमन गरिएको उहाँले बताउनुभयो । अनुगमनका क्रममा मास्क नलगाउनेलाई सचेत गराईएको थियो । अनुगमनका क्रममा मास्क बढी मुल्यमा बिक्री भएको पाइएकोले पसलेलाई सर्जिकल मास्क बढीमा ५ रुपियाँमा बिक्री गर्न निर्देशन गरिएको थियो । बजारमा अहिले स्वीकृतप्राप्त कम्पनीबाहेकका स्यानिटाइजर समेत बिक्री भएकाले त्यस्ता स्यानिटाइनर फिर्ता गर्न र बिक्री नगर्न फार्मेसी पसल संचालकलाई निर्देशन गरिएको छ । केही फार्मेसी पसलमा प्पारासिटामोल अभाव देखिएकाले यथाशीघ्र सअघि खरिद गर्ने पसलबाट पारासिटामोल मगाउन सम्बन्धित पसललाई आग्रह गरिएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका क्षयकुष्ठ अधिकृत विश्वनाथ न्यौपानेले बताउनुभयो । प्यारासिटामोल मौज्दात नभएका फार्मेसी पसललाई तत्काल औषधि ढुवानी गर्न निर्देशन दिएको उहाँले बताउनुभयो । उक्त टोलीले पाल्पा अस्पतालमा संचालित अक्सिजन प्लान्ट, एचडिओ वार्डको समेत अनुगमन गरिएको थियो । पाल्पा अस्पतालमा रहेको अक्सिजन प्लान्ट नियमित रुपमा संचालनमा रहेको र आवश्यक परे दैनिक ५० लिटरका ५० वटा सिलिण्डर अक्सिजन भर्ना सकिने पाल्पा अस्पतालका मेसु डा. जगदीश कुँवरले जानकारी दिनुभयो । अनुगमनमा पाल्पाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक जनकबहादुर शाही, एमाले पाल्पाका अध्यक्ष धनेन्द्रराज घिमिरे, कांग्रेसका उपसभापति झपेन्द्र गहिरे, माओवादी केन्द्रका नेता मथुरा ढकाल, नेकपा एकीकृत समाजवादीका नेता यादवबहादुर रायमाझी, राप्रपाका नेता डुलबहादुर कुँवर, पत्रकार महासंघ पाल्पाका अध्यक्ष रेखीराम राना, प्रहरी, पत्रकारलगायतको उपस्थिति रहेको थियो ।
प्रकाशित मिति: बिहीबार, माघ १३, २०७८  ०८:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update