Erani Mahal
पाल्पाकाे चार वटा चुनढंगा खानीद्वारा मापदण्डभन्दा बढी उत्खनन् !
CHUN-masya4-sreedada-2-1
पाल्पा – पाल्पाकाे खानी उद्याेगबाट अत्याधिक चुनढंगा उत्खनन र निकासी भएकाे पाइएकाे छ । खानी तथा भूगर्भ विभागका तत्कालीन उपमहानिर्देशक रामप्रसाद घिमिरेले महानिर्देशक बनेपछि अत्याधिक चुनढंगा दोहन गर्ने पाल्पाका ४ खानी उद्योगलाई उन्मिुक्ति दिएको खुलेको छ । घिमिरे छानबिन समितिको संयोजक हुँदा अवैध उत्खनन गर्ने पाल्पाका चारसहित नौ उद्योगबाट सवा अर्ब असुल गर्न सिफारिस गरेका थिए । तर महानिर्देशक हुँदा पाल्पाका चार सहित नौँ चुनढंगा खानी उद्योगलाई एक–एक लाख जरिवाना मात्र गरेर उन्मुक्ति दिएको खुलेको हो । घिमिरे छानविन समितिको संयोजक हुँदा सम्झौता विपरीत सबैभन्दा बढी चुनढंगा उत्खनन् गरेको भन्दै कारबाही र सवा अर्ब राजश्व अशुल गर्न सिफारिस गरिएको थियो । उक्त रिफारिस अनुसार पाल्पाको प्राकृतिक स्रोत रित्याउनमा तिनाउ गाउँपालिकामा सञ्चालित सिद्धार्थ मिनिरल्स प्रालि सबैभन्दा बढी मापदण्ड विपरीत चुनढंगा उत्खनन गर्ने कम्पनी रहेको छ । उसले नौ लाख ८९ हजार एक सय तीन टन अधिक उत्खनन गरेको छानविन समितिले ठहर गरेको थियो । सम्झौताभन्दा बढी उत्खनन गरेको भन्दै छानबिन समितिले यो कम्पनीबाट ४९ करोड ४५ लाख ५१ हजार रुपैयाँ असुल गर्न भनेको थियो । पाल्पाका स्थानीय बासिन्दा, राजनैतिक दलका नेता, सरोकारवाला निकाय, डिभिजन वन कार्यालय जस्ता संस्था चुपचाप बस्दा पनि चुन कम्पनीले पाल्पामा मनोमानी गरिरहेको छ । त्यही मनोमानी गर्ने सूचिमा पल्पाको सर्वाेत्तम सिमेन्ट प्रालि पनि परेको छ । उसले अनुमतिभन्दा दुई लाख ५१ हजार टन बढी चुनढुंगा उत्खनन गर्दा १२ करोड ५५ लाख २४ हजार राजस्व गुमेको छ । यस्तै सम्झौता अनुमतिभन्दा बढी चुनढंगा निकालेर पाल्पाको खानीमा ब्रम्हलुट गर्ने अर्को कम्पनी हो डोलामाइड चुनढुंगा प्रालि । यसले पनि तिनाउ गाउँपालिकाबाटै विगत ६ वर्षदेखि नै अनुमति पाएको भन्दा बढी चुनढंगा निकालिरहेको छ । डोलोमाइडले मात्र एक लाख ३५ हजार आठ सय टन बढी चुनढंगा निकालेर पाँच करोड ४३ लाख २१ हजार रुपैयाँ राज्यलाई घाटा गराएको समितिको ठहर छ । अर्को मनपरी गर्ने कम्पनी पनि पाल्पाकै परेको छ । देशभरि मनपरी गर्ने नौँ कम्पनीमध्ये चार वटा पाल्पाकै परेको अनुगमन समितिको भनाई छ । पाल्पाको तिनाउबाट कञ्चन क्वारिजले अनुमतिविपरीत तीन करोड आठ लाख ६९ हजार रुपैयाँ बराबरको ९४ हजार नौ सय ८२ टन चुनढंगा उत्खनन् गरेको छ । यसले पनि अनुमति पाएको भन्दा वर्षात्को समयमा पनि कयौँ गुना चुनढंगा निकासी गरेको छ । पाल्पाका स्थानीय प्रभावित समुदायलाई धुँवा, धुँलो खाएर चुपचाप यी खानीहरुलाई चुनढुंगा निकासी गर्न दिइरहेका छन् । यसमा स्थानीय तहका प्रमुख, जनप्रतिनिधि समेत बाेल्न सकेका छैनन् । यतिमात्र होइन पाल्पामा संचालित यी चारसहित अन्य चुनढंगा खानीहरूले स्थानीय तहलाई दिने रायल्टी समेत कम दिदैँ आएका छन् । स्थानीय केही व्यक्ति र स्थानीय तहसँगको मिलेमतो कम रोयल्टी दिएर उनीहरूले व्यक्तिलाई पोस्दै आएका स्रोतले जनाएको छ ।
प्रकाशित मिति: शनिबार, माघ ८, २०७८  १३:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update