Erani Mahal
पाल्पा प्रहरी प्रमुख र पत्रकारहरूबीच परिचय तथा अन्तरक्रिया
272262215_236787895292383_8749484730323276060_n
पाल्पा – जिल्ला प्रहरी कार्यालय पाल्पामा सरुवा भएर आउनुभएका प्रमुख र पत्रकारहरूबीच अन्तरक्रिया तथा परिचय कार्यक्रम भएको छ । कार्यक्रममा पाल्पाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक जनकबहादुर शाहीले जिल्लाको शान्तिसुरक्षा सुधार गर्न आफू प्रतिबद्ध भएर लाग्ने बताउनुभयो । बढ्दो आत्महत्या, सवारी दुर्घटना, ट्राफिक समस्या, केही सार्वजनिक अपराध, चोरी सम्बन्धी घटना न्युनीकरण गर्न आफूले विशेष पहल गर्ने प्रतिबद्धता प्रहरी प्रमुख शाहीले जनाउनुभयो । विगतदेखि नै प्रहरीको अनुसन्धानमा रहेको किशोर वेपत्ता घटनामा समेत अनुसन्धान गर्न आफूले सक्दो पहल गर्ने उहाँले बताउनुभयो । जिल्लाका पत्रकार, नागरिक समाज, राजनैतिक दल तथा अन्य व्यक्तिहरूसँगको समन्वयमा जिल्लाको शान्ति सुरक्षाको अवस्थालाई सुधार गर्ने प्रहरी प्रमुख शाहीले बताउनुभयो । कार्यक्रममा नेपाल पत्रकार महासंघ पाल्पा शाखाका अध्यक्ष रेखीराम रानाले जिल्लामा चुनढुंगा खानीबाट क्षमताभन्दा बढी चुनढुंगा बोक्ने काम भएकाले त्यसलाई रोक्नुपर्नेमा जोड दिनुभयो । उहाँले ट्रिपरको ओभरलोड र अत्याधिक गतिका कारण दुर्घटना बढेको बताउँदै त्यसलाई रोक्न तत्काल कदम चाल्नुपर्ने बताउनुभयो । अध्यक्ष रानाले केही प्रहरी अधिकृतले केही व्यक्ति र समूहसँग अनावश्यक सम्बन्ध राख्ने गरेको बताउँदै त्यस्ता सम्बन्धले कतिपय घटनामा यथार्थता लुक्ने गरेको बताउनुभयो । कार्यक्रममा महासंघका उपाध्यक्ष भरत शर्माले तानसेन लगायत जिल्लाभरको ट्राफिक समस्या समाधानमा प्रहरीले विशेष ध्यान दिनुपर्ने बताउनुभयो । शर्माले विभिन्न स्थानमा जुवाडेहरू जुँवा खेलेको गुनासो आएपनि जुवाडेलाई पक्राउ गर्नमा प्रहरीको सक्रियता कमजोर भएको बताउनुभयो । महासंघका पूर्वअध्यक्ष भगवान भण्डारीले प्रहरीले निष्पक्ष रुपमा जनताको सेवामा काम गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले जिल्लामा किशोर न्यौपानेको खोजीमा बाहेक अन्य घटनामा पाल्पा प्रहरी सफल रहेको बताउनुभयो । कार्यक्रममा पत्रकारहरू कृष्ण कार्की, कृष्ण पोखरेल, नारायण न्यौपाने, सुनिल कार्की लगायतले सुझाव दिनुभएको थियो । सोही अवसरमा जिल्लामा विगतका वर्षमा र यो चालु वर्षमा जिल्लामा घटेका विभिन्न घटना र प्रहरीले शान्ति सुरक्षा कायम गर्न गरेको क्रियाकलापको बारेमा प्रहरी प्रमुख शाहीले जानकारी दिनुभएको थियो । उहाँले पत्रकारहरूले राखेको सल्लाहलाई समेत प्रहरीले मनन गर्दै कार्यान्वयन गर्दै जाने उल्लेख गर्नुभयो ।
प्रकाशित मिति: शनिबार, माघ ८, २०७८  ०८:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update