Erani Mahal
पूर्ण मात्रा खोप पाएका स्वास्थ्यकर्मीमा किन बढ्दैछ कोरोना संक्रमण ?
icu-apf1622721506
नेपालमा गत वर्षको माघ दोस्रो सातादेखि कोरोना भाइरसविरुद्धको खोप लगाउन सुरु भयो । पहिलो पटक खोप कार्यक्रम सुरु हुँदा कोभिड–१९ संक्रमण रोकथाम, नियन्त्रण र उपचारमा अग्रपंक्तिमा खटिएका (फ्रन्टलाइनर)लाई प्राथमिकता दिइएको थियो । जसले गर्दा कोरोना विरुद्धको खोप कार्यक्रममा पहिलो चरणमा अस्पतालमा कार्यरत चिकित्सक, नर्स लगायत स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा पत्रकारले प्राथमिकता पाए । कोरोना महामारीको पहिलो लहरपछि सुरु भएको खोप अभियान चलिरहँदा नेपालमा दोस्रो लरहको कोरोना संक्रमण देखियो । दोस्रो लहरको संक्रमणले खोप नपाएका व्यक्तिहरुलाई बढी असर पा¥यो । खोप लगाएकाले दोस्रो लरहको संक्रमणमा स्वास्थ्यकर्मीहरु कम संक्रमित भए । तर हाल ओमिक्रोन भेरियन्ट सहितको कोरोना संक्रमण फैलिदै गर्दा स्वास्थ्यकर्मीहरुमा कोरोना संक्रमण बढ्दै गएको पाइएको छ । गत वर्षको माघ दोस्रो साता पहिलो र बैशाखमा दोस्रो डोज खोप लगाएका स्वास्थ्यकर्मीहरु अहिले धमाधम संक्रमित भइरहेका छन् । त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, सशस्त्र प्रहरी बल अस्पताल, भरतपुर अस्पताल लगायत देशका धेरैजसो अस्पतालहरुमा कोरोना संक्रमित चिकित्सक, नर्स लगायत स्वास्थ्यकर्मी बढ्दै गएका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा कृष्ण प्रसाद पौडेलका अनुसार नेपालमा ओमिक्रोन भेरियन्ट सहितको कोरोना संक्रमण बढ्दै जाँदा ५ सय भन्दा बढी स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भइसकेको छ । कोरोनाविरुद्धको दुवै डोज (पूर्ण मात्र) लगाएका स्वास्थ्यकर्मीहरुमा अहिले ओमिक्रोन भेरियन्टको संक्रमण किन देखिइरहेको छ? दुवै डोज खोप लगाएका स्वास्थ्यकर्मी संक्रमित हुनुको प्रमुख ३ कारण रहेको डा पौडेलको बुझाइ छ । एउटा कारण हो स्वास्थ्यकर्मीले खोप लगाएको ६ महिनाभन्दा बढी भइसक्नु । डा पौडेल भन्नुशुन्छ्,‘खोप लगाएको ६ महिना कटेपछि शरीरमा खोपले बनाएको एन्टिबडी घट्दै आउँछ, यो भन्दा अगाडि प्राकृतिक संक्रमण भएर भएको एन्टिबडी पनि घट्दै आउँछ।’ स्वास्थ्यकर्मीहरुले दुवै डोज खोप लगाएको ६ महिना पुरा भइसकेको र उनीहरुको शरीरमा खोप र प्राकृतिक रुपमा बन्ने एन्टिबडी कमजोर हुँदा स्वास्थ्यकर्मीहरु संक्रमित भइरहेको डा पौडेलले बताउनुभयो । ओमिक्रोन भेरियन्ट फैलिदै जाँदा यस खोपले बनाएको एन्टिबडीलाई पनि कमजोर बनाउने अध्ययनहरुले देखाएकाले डा पौडेलले बताउनुभयो । उहाँले यसलाई स्वास्थ्यकर्मी संक्रमित हुनुको दोस्रो कारण मान्नुहुन्छ । ’एक त स्वास्थ्यकर्मीले खोप लगाएको ६ महिना बढी हुँदा उनीहरुको शरीरमा एन्टिबडी कम छ, अर्को अहिलेको ओमिक्रोन भेरिएन्टले खोपले बनाउने एन्टिबडीलाई कमजोर बनाइदिने भएकाले स्वास्थ्यकर्मी बढी संक्रमित भएका हुनसक्छन्’, डा पौडेलले भन्नुभयोे । दोस्रो लहरको संक्रमणदर कम हुँदै जाँदा अस्पताल तथा स्वास्थ्यसंस्थामै स्वास्थ्यका मापदण्ड पूर्ण पालना नहुनु स्वास्थ्यकर्मीमा संक्रमण बढ्नुको तेस्रो कारण रहेको डा पौडेलले बताउनुभयो । ‘संक्रमणको जोखिम घट्दै जाँदा अस्पतालहरुमा स्वास्थ्यकर्मीले स्वास्थ्य सतर्कता अपनाउनमा कमजोरी रह्यो कि भन्न सकिन्छ,’ डा पौडेलले भन्नुभयोे, ‘हामीले देख्दा नि तुलनात्मक रुपमा शुक्रराज अस्पतालका स्वास्थ्यकर्मी कम संक्रमित छन्, किनकी त्यहाँ पूर्ण रुपमा स्वास्थ्य सतर्कता अपनाइएको छ।’ अस्पतालहरुमा पिपिई प्रयोग तथा स्वास्थ्यका मापदण्ड पूर्ण पालना नहुँदा तथा उनीहरु बिरामीसँग छिटो र प्रत्यक्ष रुपमा सम्पर्क हुँदा स्वास्थ्यकर्मीमा संक्रमण बढेको डा पौडेलले जानकारी दिनुभयो । ओमिक्रोन भेरियन्ट सहितको संक्रमण नेपालमा देखिनु भन्दा दुई साता अघि स्वास्थ्यकर्मीले खोपको तेस्रो मात्रा अर्थात बुस्टर डोज पाएको भए स्वास्थ्यकर्मीमा संक्रमणदर केही कम हुनसक्थ्यो कि भन्ने डा पौडेललाई लाग्छ । ‘खोपले शरीरमा एन्टिबडी बनाउन दुईसाता जति लाग्छ, स्वास्थ्यकर्मीलाई अलिकति छिटो बुस्टर डोज दिन पाएको भए हुन्थ्यो भन्ने लाग्छ,’ डा पौडेलले भन्नुभयोे, ‘तर बुस्टर नै लगाएपनि ओमिक्रोनले खोपले बनाउने एन्टिबडीलाई पनि ब्रेक गर्छ भनिएको छ, यो अहिलेको लेटेस्ट अध्ययनले देखाएको कुरा हो, अस्ट्रेलियाको केसले पनि यो पुष्टि गरेको छ।’ उहाँले खोप लगाएकाहरुमा भाइरसको असर भने नलगाएकाहरुको तुलनामा निकै कम देखिएको जानकारी दिनुभयो । अस्पतालमा चिकित्सक, नर्स लगायत स्वास्थ्यकर्मी संक्रमित हुने क्रम बढ्दै जाँदा केन्द्रीय अस्पतालहरुमा स्वास्थ्य सेवा समेत प्रभावित हुन थालिसकेका छन् ।
प्रकाशित मिति: बिहीबार, माघ ६, २०७८  १३:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update