Erani Mahal
पश्चिमी वायुको प्रभाव : वर्षा र हिमपातको सम्भावना
mausam-water
हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ। उक्त मौसमी प्रणालीको प्रभावले आगामी तीन दिनसम्म देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भेगका थोरै स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार हाल सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेशलगायत अन्य प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ। साथै पश्चिम र पूर्वी तराई भेगमा हुस्तु/कुहिरो लागेको छ। दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। पहाडी भेगका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। रातिको समयमा देशभर आंशिकदेखि सामान्य बदली रहने छ। प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश तथा सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। शुक्रबार पनि देशभर आंशिकदेखि सामान्य बदली रही हरेक प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
प्रकाशित मिति: बिहीबार, माघ ६, २०७८  १२:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update