Erani Mahal
तानसेन नगरपालिकाले जेष्ठ नागरिक, सुत्केरी महिला तथा अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क एम्बुलेन्स सेवा
Tansen-nagarpalika
पाल्पा - तानसेन नगरपालिकाले जेष्ठ नागरिक, सुत्केरी महिला तथा अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क एम्बुलेन्स सेवा दिने भएको छ । सत्तरी वर्षमाथिका नागरिक, क र ख वर्गको सुबिधा प्रयोग गर्ने अपाङ्गता भएका र सुत्केरी महिलाका लागि नगरपालिकाले निशुल्क एम्बुलेन्स सेवा सुरु गर्न लागेको हो । तानसेन नगरपालिकाका नगर प्रमुख अशोककुमार शाहीले नगरपालिका र रेडक्रस सोसाइटीको संयुक्त पहलमा निशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्न लागिएको जानकारी दिनुभयो । नगरपालिकाको ६० र सोसाइटीको ४० प्रतिशत लगानीमा एम्बुलेन्स गरी खरिद गरी सञ्चालन गर्ने तयारी भएको नगरप्रमुख शाहीले बताउनुभयो । नगरपालिकाभित्रका जेष्ठ नागरिक, सुत्केरी र अपाङ्गता भएका नागरिकको सुबिधाका लागि निशुल्क एम्बुलेन्स सेवा सञ्चालन हुने उहाँले बताउनुभयो । नगरभित्रका ७० वर्षमाथिका जेष्ठ नागरिक, सुत्केरी महिला, र अपाङ्गता भएका नागरिक बिरामी भएको अवस्थामा निशुल्क सेवा दिने निर्णय भएकाले तत्कालै कार्यान्वयन गरिने नगरपालिकाका सूचना अधिकारी दुर्गाबहादुर थापाले बताउनुभयो । नगरपालिकाले चालु आवभित्रै ७० वर्षदेखि माथिका पाँच हजार चार सय जेष्ठ नागरिकलाई घरमै आधारभूत स्वास्थ्य सुबिधा प्रदान गर्न लागेको छ । जेष्ठ नागरिकलाई १० प्रकारको औषधिसमेत निशुल्क प्रदान गर्ने र प्रेसर जाँच, युरिन जाँच, घाउँ तथा चोटपटकको उपचार, आवश्यकताका आधारमा स्वास्थ्य परीक्षणको सुबिधा प्रदान गर्न थालिएको सूचना अधिकारी थापाले बताउनुभयो ।
प्रकाशित मिति: मंगलबार, माघ ४, २०७८  १५:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update