Erani Mahal
राष्ट्रिय सभाका तीन उम्मेदवारसँग पाल्पामा अन्तरक्रिया कार्यक्रम
20220117_161929
पाल्पा – आगामी माघ १२ गते हुने राष्ट्रिय सभा निर्वाचनका उम्मेदवार र मतदाताका बीचमा अन्तरक्रिया तथा उम्मेदवार परिचय कार्यक्रम सम्पन्न भएको छ । पाल्पाको तानसेनमा भएको अन्तरक्रिया कार्यक्रममा राष्ट्रिय सभाका उम्मेदवार, मतदाताको सहभागिता रहेको थियो । अन्तरक्रिया कार्यक्रममा राष्ट्रिय सभा उम्मेदवार युवराज शर्माले आफू निर्वाचित भएपछि संवैधानिक, राजनैतिक र गठबन्धनको दायित्व पूरा गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले आफू आफैँले राजेको बाटो हिड्ने र त्यो बाटो समाजवादको बाटो रहेको बताउनुभयो । शर्माले केपी ओलीले आफूले रोजेको बाटो नभई आफू जन्मदैँ पाएको बाटो पछ्याउन खोज्दा प्रतिगमनको बाटोमा पुगेको उल्लेख गर्नुभयो । यस्तै अर्का उम्मेदवार राजेन्द्रलक्ष्मी गैरेले आम मतदाता र पाल्पाली जनताले अपेक्षा गरेअनुसार आफू अघि बढ्ने बताउनुभयो । गैरेले देश, जनता र राष्ट्रियताको पक्षमा निष्पक्ष भएर निरन्तर आवाज उठाउने उहाँले प्रतिबद्धता जनाउनुभयो । कार्यक्रममा अर्का उम्मेदवार तुलप्रसाद विश्वकर्माले सबै जनतालाई समान रुपमा हेरेर जनताको पक्षमा निरन्तर लाग्ने बताउनुभयो । उहाँले जनताका बीचमा रहेको समस्या सदनमा उठाउने र उक्त समस्या समाधानका लागि आफू सधैँ क्रियाशील रहने विश्वकर्माको भनाइ छ । विश्वकर्माले अहिले राष्ट्रियता र जनजीविकाको मुद्दा कमजोर बन्दै गएकाले आफूले उक्त मुद्दालाई सशक्त रुपमा सदनमा उठाउने उल्लेख गर्नुभयो । लुम्विनी प्रदेशबाट कांग्रेस, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाको तर्फबाट उम्मेदवार पाउने सहमति भएको थियो । सहमति अनुसार गठबन्धनमा सहभागी कांग्रेसको तर्फबाट बाँकेका युवराज शर्मा, राष्ट्रिय जनमोर्चाको तर्फबाट रुपन्देहीका तुलप्रसाद विश्वकर्मा र नेकपा एकीकृत समाजवादीको तर्फबाट पाल्पाकी राजेन्द्रलक्ष्मी गैरे राष्ट्रिय सभाको चुनावमा उम्मेदवार बन्नुभएको छ । कार्यक्रममा पाल्पाका स्थानीय तहका प्रमुख, उपप्रमुख, गठबन्धनका सहभागी दलका नेता, कार्यकर्ताको सहभागिता रहेको थियो । कार्यक्रममा नेपाली कांग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठ, माओवादी केन्द्रका केन्द्रीय सदस्य अनिलकिशोर घिमिरे, नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष कमल पाण्डेय, राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य सोमकुमार कार्कीलगायतको सहभागिता रहेको थियो । उम्मेदवार परिचय कार्यक्रम नेपाली कांग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठको सभापतित्व र राष्ट्रिय जनमोर्चा पाल्पाका अध्यक्ष विशाल दर्लामीको संचालनमा सम्पन्न भएको थियो ।
प्रकाशित मिति: सोमबार, माघ ३, २०७८  २०:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update