Erani Mahal
रुपन्देहीमा संक्रमण फैलिन नदिन प्रशासनले बढायो सक्रियता
corona-vaccine
रुपन्देही प्रशासनले कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सक्रियता बढाएको छ । कोभिड रोकथाम तथा नियन्त्रणका लागि पूर्व सतर्कता अपनाउनेगरी जिल्ला प्रशासन कार्यालय रुपन्देहीले सक्रियता बढाएको हो । छिमेकी मुलुकसहित देशका विभिन्न भागमा संक्रमण दर बढ्दै जाँदा त्यसको रोकथाम तथा नियन्त्रणको पूर्व तयारीका लागि रुपन्देही प्रशासनले सक्रियता बढाएको बताएको छ । कोभिड–१९ संकट व्यवस्थापन समितिको बैठकले कोभिड–१९ को संक्रमणको जोखिमलाई दृष्टिगत गरी स्वास्थ्यसम्बन्धी सुरक्षाका मापदण्ड अनिवार्य रुपमा पालना गराउने निर्णय गरेको छ । २५ जनाभन्दा बढीको उपस्थिति हुनेगरी कुनै पनि किसिमको भेला, मेला तथा महोत्सवहरु तथा सामाजिक लगायतका कार्यहरु नगर्न नगराउने निर्णयलाई कार्यान्वयन गर्न रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीद्वारा आदेश जारी गरिएको छ । आगामी माघ ७ गतेदेखि जिल्लाभित्रका सबै सार्वजनिक निकायमा सेवा प्राप्त गर्न कोभिड–१९ विरुद्धको खोपकार्ड अनिवार्य हुनुपर्ने रुपन्देहीका प्रमुख जिल्ला अधिकारी तिवारीले बताउनुभयो । आगामी माघ ७ गतेदेखि लागू हुनेगरी सार्वजनिक सेवा प्राप्त गर्दा तथा सार्वजनिक स्थानमा प्रवेश गर्दा कोभिड–१९ विरुद्धको खोप लगाएको कार्डलाई अनिवार्य हुनुपर्ने निर्णय गरिएको हो । कोभिड–१९ को नयाँ भेरियन्टको बढ्दो संक्रमणलाई मध्यनजर गरी यसको रोकथाम, नियन्त्रण र उपचारलाई थप प्रभावकारी बनाउन सार्वजजिक स्थानहरु (कार्यालय, होटल, रेष्टुरेण्ट, सिनेमा हल, रंगशाला, हवाईयात्रा, पार्क आदिमा प्रवेश गर्दा यही माघ ७ गतेदेखि खोप लगाएको कार्ड (मोबाइलमा फोटो भएपनि हुने) साथमा राख्ने र यस्ता सबै निकायले खोप कार्ड हेरेर मात्र प्रवेश दिने व्यवस्था गर्नुपर्ने प्रमुख जिल्ला अधिकारी तिवारीले बताउनुभयो । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को सिफारिस, गृह मन्त्रालयको निर्णय बमोजिम संक्रामक रोग ऐन २०२० को दफा २ एवम् स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ ले दिएको अधिकार प्रयोग गरी जिल्लामा अर्को सूचना जारी नभएसम्मका लागि आदेश जारी गरिएको प्रशासन कार्यालयले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, पुस ३०, २०७८  १६:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update