Erani Mahal
निरन्तर कोरोना संक्रमण दर बढ्दै, ओमिक्रोन भेरियन्ट रोकथामको यस्तो छ तयारी
health-ministry--swasthya-m_RHv84RB7de
पछिल्लो समय देशभर कोरोना संक्रमणदर वृद्धि हुँदै गएको छ । पुस १९ गते कूल परीक्षणमध्ये २.६ प्रतिशतमा रहेको सङ्क्रमण हिजो पुस २६ गते कूल परीक्षण गरेकोमध्ये १२.७ प्रतिशतमा सङ्क्रमण पुगेको छ । यस्तै पुस २५ गते कूल परीक्षण गरेकोमध्ये ९.२ प्रतिशतमा सङ्क्रमण दर रहेको थियो । यसैगरी पुस २० गते ४.२ प्रतिशत, पुस २१ गते ४.३ प्रतिशत पुस २२ गते ४.५ प्रतिशत, पुस २३ गते ६।५ प्रतिशत, पुस २४ गते ७।१ प्रतिशत कूल सङ्क्रमण दर रहेको थियो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सङ्क्रमणकै कारणले अहिलेसम्म नै बन्दाबन्दीको अवस्थामा पुगिहाल्ने कुनै निर्णय गरेको छैन । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले अहिलेको अवस्थामा बन्दाबन्दी गरिहाल्ने सोच मन्त्रालयको नभएको बताउनुभयो । मन्त्रालयले जुन क्षेत्रमा सङ्क्रमणको दर बढी हुन्छ सोही क्षेत्रमा मात्र स्मार्ट लकडाउन गर्ने तयारीमा रहेको छ । उहाँका अनुसार मन्त्रालयले ‘स्मार्ट लकडाउन’ गर्ने अधिकार भनेर सम्बन्धित जिल्लाको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रलाई दिएको छ । जिल्ला र स्थानीय तहमा कति सङ्क्रमितसम्मलाई उपचार गर्न सकिन्छ त्यसको पनि अब लेखाजोखा हुनुपर्ने अवस्था छ । मन्त्रालयले सम्भावित जोखिम रोक्नका लागि खोप अभियानलाई तीव्रता दिएको छ । प्रतिदिन पाँच लाख जनालाई खोप लगाउन सक्ने क्षमता मन्त्रालयसँगै रहेको छ । मन्त्रालयका सहप्रवक्ता डा अधिकारीले तेस्रो लहरलाई रोकथाम र नियन्त्रण गर्नका लागि खोप अभियानलाई जनताको घरदैलोसम्म पु¥याइरहेको बताउनुभयो । स्थानीय तहको समन्वयमा खोप अभियानलाई जनताको घरदैलोमा पु¥याइएको छ । मन्त्रालयले यही पुस मसान्तभित्र लक्षित सबैलाई खोप लगाएपछि बुस्टर डोज दिने भएको छ । बुस्टर डोज अग्रपङ्क्तिमा काम गर्नेलाई माघको पहिलो हप्ता र ६० वर्ष भन्दामाथिका ज्येष्ठ नागरिक तथा गम्भीर रोग प्रतिरोधात्मक क्षमता कम भएका, सक्रिय क्यान्सरका रोगी, अङ्ग प्रत्यारोपण गरेका बिरामी, एचआइभी भएका बिरामी, उपचारको क्रममा रोग प्रतिरोधात्मक क्षमता कम गराउने औषधि सेवन गरिरहेका बिरामीलाई माघको दोस्रो हप्तादेखि बुष्टर डोज दिने भएको हो । यसैबीच सरकारले पहिलेको अनुभवबाट पाठ सिकेर अहिले सम्भावित तेस्रो लहरको जोमिख हुननदिन अस्पताललाई तयारी अवस्थामा राखेको छ । प्रदेश नं १ मा ११ वटा प्रदेश २ मा छ वटा, बागमती प्रदेशमा २१ वटा, गण्डकी प्रदेशमा १७, लुम्बिनी प्रदेशमा १८ वटा, कर्णाली प्रदेशमा ७ वटा र सुदूरपश्चिम प्रदेशमा पाँच वटा अक्सिजन प्लान्ट स्थापना गरिएको छ । मन्त्रालयका प्रवक्ता डा सङ्गीता कौशल मिश्राले ओमिक्रोन भेरियन्टको सम्भावित जोखिम रोक्नका लागि स्वास्थ्यकर्मी पनि तयारी अवस्थामा राखिएको बताउनुभयो । “समुदायमा जोखिम क्षेत्र पत्ता लगाई एन्टिजेनमार्फत परीक्षण गर्न र पहिचान भएका सङ्क्रमितको उचित व्यवस्थापन गर्नसमेत सबै स्थानीय तह र प्रदेश सरकारलाई निर्देशन दिइसकेको छ,” उहाँले भन्नुभयोे । यस्तै सीमा नाकामा कोरोना भाइरसको परीक्षण थप बढाउने र सङ्क्रमितलाई आइसोलेशनमा राख्ने व्यवस्था मिलाइएको उहाँको भनाइ रहेको छ । ओमिक्रोन भेरियन्ट पत्ता लगाउन मन्त्रालयले नियमित रुपमा परीक्षणको काम गरिरहेको छ ।
प्रकाशित मिति: मंगलबार, पुस २७, २०७८  १४:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update