Erani Mahal
पाल्पामा बन्याे १७० विद्यालयहरूकाे भुकम्प प्रतिराेधी भवन
School Jana gargati mavi
पाल्पा – पाल्पामा भुकम्पबाट क्षतिग्रस्त भएका १७० वटा विद्यालयको भुकम्प प्रतिरोधी भवन निर्माण सकिएको छ । वि.स. २०७२ साल बैशाखमा गएको भुकम्पका कारण भत्किएका १७० वटा विद्यालयमा भवन निर्माण सम्पन्न भएको हो । जिल्लाभर भुकम्पले २०६ वटा विद्यालयमा क्षति पु¥याएको थियो । तीमध्ये हालसम्म एक सय ७० विद्यालयको भवन पुनर्निर्माण सकिएको शिक्षा विकास तथा समन्वय इकाइ पाल्पाले जनाएको छ । ईकाइका इन्जिनियर गुनबहादुर मल्लले ६३ विद्यालयको दुई कोठे, २२ वटा विद्यालयको तीन कोठे, ८५ वटा विद्यालयको चार कोठे भवन निर्माण सम्पन्न भएको बताउनुभयो । पछिल्लो ६ वर्षको अबधिमा भुकम्पले क्षति पु¥याएका एक सय ७० वटा विद्यालयमा भवन बनेको, ८९ वटा विद्यालयहरूमा शौचालय र ४७ वटा विद्यालयहरूमा खानेपानीको पहुँच विस्तार भएको उहाँले बताउनुभयो । उहाँका अनुसार तानसेनमा भुकम्पले क्षति पु¥याएका १५ वटा भवन निर्माण सम्पन्न भएको छ । यस्तै रामपुरमा ३३ वटा भवन, बगनासकालीमा ८ वटा भवन, रिब्दीकोटमा ११ वटा भवन, रैनादेवी छहरामा २० वटा, माथागढीमा १७ वटा, रम्भामा ५ वटा भवन बनेको छ । यस्तै तिनाउमा २३ वटा भवन, पूर्वखोलामा ९ वटा र निस्दीमा २९ वटा भवन बनिसकेको छ । भवनबाहेक विभिन्न पालिकाहरूमा एक सय ४१ विद्यालयमा शौचालय र खानेपानीको पहुँच पुगेको छ । गतवर्षसम्ममा नसकिएका ३० वटा विद्यालयहरूमा दुई, तीन, चार कोठे भवन निर्माणको काम चलिरहेको उहाँले बताउनुभयो । यस्तै १७ वटा खानेपानी तथा शौचालयको योजना समेत सम्पन्न हुने क्रममा रहेको इन्जिनियर मल्लले जानकारी दिनुभयो । मल्लका अनुसार हाल यो कार्यक्रम शिक्षा मन्त्रालय अन्तर्गत सञ्चालनमा रहेको र चालु आवभित्रै भुकम्पबाट भत्किएका शैक्षिक संस्थाको सबै संरचना निर्माण गर्न सकिनेछ । यस्तै साउदी सरकारको अनुदान र केन्द्रीय आयोजना इकाइको ठेक्का सम्झौँताबाट पाँच वटा विद्यालयको भवन निर्माणको काम भइरहेको छ । भुकम्पबाट क्षतिग्रस्त विद्यालयहरूको पुनर्निर्माणले २१ हजार बढी विद्यार्थीहरूको पठनपाठन सहज बन्ने अनुमान गरिएको छ । पाल्पा जिल्लामा आव २०७३/०७४ सालदेखि भुकम्पबाट क्षतिग्रस्त शैक्षिक संस्थाहरूको पुनर्निर्माणको काम सुरु भएको थियो । छ वर्षको अबधिमा पाल्पामा भुकम्पबाट क्षति भएका दुई सय छ विद्यालयमध्ये एक सय ९४ विद्यालयहरूको भवन निर्माणको काम सुरु भएको थियो । भुकम्पबाट भत्किएका भवन, खानेपानी तथा शौचालय निर्माणका लागि हालसम्म ७१ करोड बढी खर्च भएको इकाइका लेखापाल हेमकुमारी रिंजालीले बताउनुभयो ।
प्रकाशित मिति: मंगलबार, पुस २७, २०७८  १३:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update