Erani Mahal
एमाले पाल्पाकाे अध्यक्षमा घिमिरे निर्वाचित
uml-palpaa
पाल्पा – नेकपा एमाले पाल्पाको अध्यक्षमा धनेन्द्रराज घिमिरे सर्वसम्मत रुपमा निर्वाचित हुनुभएको छ । यसअघि पनि दुई पटक एमाले पाल्पाको नेतृत्व सम्हाल्नुभएका घिमिरे तेस्रो पटक सहमतिमा अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो । एमालेको शुक्रबारदेखि सुरु भएको नवौँ अधिवेशनबाट उपाध्यक्षमा देवीलाल लामिछाने, सचिवमा भोजराज पोखरेल (रामजी) निर्वाचित हुनुभएको छ । यस्तै उपसचिवमा टिका थापा र सुनिता शर्मा निर्वाचित हुनुभएको निर्वाचन समितिले जनाएको छ । अधिवेशनले एक सय पाँच जनाको जिल्ला कमिटी निर्वाचित गरेको छ । अधिवेशनमा जिल्लाभरबाट सात सय बढी प्रतिनिधिको सहभागिता रहेको थियो । अध्यक्ष पदका लागि निवर्तमान अध्यक्ष नारायणप्रसाद आचार्य, पूर्व कार्यबहाक अध्यक्ष देवीप्रसाद बस्याल, निवर्तमान उपाध्यक्ष मोहन थापा, निवर्तमान सचिव ओमबहादुर घर्तीमगर, रिब्दीकोछट गाउँपालिकाका अध्यक्ष नारायणबहादुर जिसी र पूर्व सभासद् नारायणी घिमिरेको नाम चर्चामा थियो । तर अन्तमा नेतृत्वको हस्तपक्षेपले तेस्रो विकल्पमा पुरानै नेतृत्व आएको स्रोतले जनाएको छ । अध्यक्ष लगायत सचिव पदमा समेत एक जनाभन्दा बढी आकांक्षी रहेका थिए । पाल्पामा पनि उपाध्यक्ष विष्णु पौडेललाई नेता मान्ने की महासचिव शंकर पोखरेललाई नेता मान्ने गरी दुई खेमामा नेताहरू विभाजित भएका थिए । स्रोतका अनुसार बिहीबार राति नै एमालेका उपाध्यक्ष विष्णु पौडेल पाल्पा आएर फर्कनुभएको थियो । पौडेलले पदाधिकारीको नेतृत्वसहित पदाधिकारीको विषयमा आफ्नो कुरा राखेर राति नै फर्किएको स्रोतको दावी छ ।
प्रकाशित मिति: शनिबार, पुस २४, २०७८  ०८:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update