Erani Mahal
कसले मार्ला एमाले पाल्पाको अध्यक्ष : आकांक्षा धेरैको तर मुख खोल्न गाह्रो !
Yemale
पाल्पा– नेकपा एमालेको पाल्पाको ८ औं जिल्ला अधिवेशन नजिकिएसँगै आगामि नेतृत्वमा को आउने भन्ने चर्चा समेत चल्न थालेको छ । एमालेको जिल्ला अध्यक्षको लागि आधा दर्जन बढी अनुहारहरुको दावी गरेको भएता पनि कसैले पनि अहिलेसम्म मुख खोलेको अवस्था भने छैन । यस अघि नेता विष्णु पौडेलको शुभ आर्शिवाद लिएर जिल्ला अध्यक्ष हुने गरिएको भएपनि पाल्पामा अघिकांश नेता विष्णु पौडेल निकट रहेको एमाले स्रोतले जनाएको छ तर पछिल्लो राष्ट्रिय महाधिवेशनबाट महासचिवमा शंकर पोखरेल चयन भएपछि उहाँको साथ रहने नेता नै जिल्ला अध्यक्ष हुने कतिपय एमाले नेताहरुले बताउने गरेका छन् । एमालेको जिल्ला अध्यक्षका लागि वर्तमान अध्यक्ष नारायण प्रसाद आचार्य, उपाध्यक्ष मोहन थापा, पूर्व सचिव तथा कार्यबहाक अध्यक्ष देवी प्रसाद बस्याल, पूर्व सभासद नारायणी शर्मा, सचिव ओम बहादुर घर्ती, नारायण जिसी, दामोदर घिमिरे लगायतको चर्चा रहेको भएता पनि कसैले अझैसम्म मुख नखोलेको एमाले एक जिल्ला स्तरका नेताले बताउनुभयो । उहाँले विशेषगरी जिल्लामा रहेका तीन नेताहरु नबस्दा सम्म उम्मेद्वारको माहौलवारे बाहिर कुरा नआउने रानीमहललाई बताउनुभयो । ती तीन नेताहरुमा दलबहादुर राना, ठाकुर गैरे र राधाकृष्ण कँडेलको रोजाइमा रहेर प्रदेश र केन्द्रको नेतृत्वको विश्वास भएमा सोही नेता अध्यक्ष बन्ने पक्का पक्की नै रहेको छ । उसो त एमालेले पूर्व सभासद नारायणी शर्मालाई केन्द्रीय सदस्य बनाउने भनिएपनि पछि आएर उहाँलाई रित्तो हात फिर्ता गरेको थियो, शर्मा महिला र लामो समयको योगदानको आधारमा पार्टीलाई एक महिला अध्यक्ष बनाउ भन्ने भएमा उहाँको दावा बलियो रहेको एमाले स्रोतले बतायो । यद्यपी हालमा अध्यक्ष आचार्य नै दाेहाेरिने सम्भावना पनि बढी छ । सहमतिमै नेतृत्व चयन गर्ने भनेकाले पनि नयाँलाइ भन्दा पुरानै नेतृत्व आउने सम्भावना रहेकाे स्राेतकाे भनाइ छ । यस्तै अध्यक्षमा कुरा नमिल्ने भएपछि लामो समय माधव नेपाल निकट रहेर पछिल्लो समय १० भाईसंगै एमालेमा रहेका पूर्व अध्यक्ष यादव रायमाझी नेकपा एसतर्फ लागेको चर्चा समेत भएको छ । तत्कालिन नेकपाकाे विघटन पछि नेकपा एमाले पार्टी फुटेकाले जिल्ला र गाउँगाउँमा रहेका कार्यकर्ताहरुमा निराशा छाएकाे छ । पाल्पामा समेत एमाले फुटले कार्यकर्ताहरुमा मनाेवैज्ञानिक असर परेकाे छ । उनीहरुले भने सबैलाइ मिलाएर लैजान सक्ने समन्वयकारी भूमिका निर्वाह गर्न सक्ने व्यक्ति अध्यक्षमा आउनुपर्ने माग राखेका छन् । एमालेले २३ पुसमा मदनपोखराको टिन्टीआँपमा आठौं जिल्ला अधिवेशन गर्ने कार्यक्रम रहेको छ । त्यसका लागि तयारी र प्रतिनिधि छनौटको कामहरु सकिएको एमालेले जनाएको छ । एमालेमा आेली र माधव समूह भएकाे भएता पनि अहिले माधव नेपालले पाटी फुटाएपछि एकै गुट र विचारका नेताहरु विच अध्यक्ष सहित अन्य पदाधिकारीहरुमा समेत प्रतिस्प्रर्धा हुने भएकाे हाे ।
प्रकाशित मिति: मंगलबार, पुस २०, २०७८  १८:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update