Erani Mahal
पाल्पाका जेष्ठ नागरिकका लागि घर-घरमा स्वास्थ्य सेवा कार्यक्रम सञ्चालन हुने
270160338_2990552684494647_9218649050414619450_n
पाल्पा – पाल्पाका जेष्ठ नागरिकहरूका लागि घर–घरमा स्वास्थ्य सेवा कार्यक्रम सञ्चालन गर्न अभिमुखीकरण कार्यक्रम गरिएको छ । जिल्लाका सरोकारवाला पक्षहरूको सहभागितामा जिल्लास्तरीय अभिमुखीकरण कार्यक्रम भएको हो । ७० वर्ष उमेर माथिका जेष्ठ नागरिकलाई घरमै पुगेर आधारभूत स्वास्थ्य सेवा प्रदान गर्न यो कार्यक्रम सञ्चालन गर्न लागिएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । लुम्विनी प्रदेश सरकारले आव २०७८/०७९ मा जिल्लाका पाँच हजार चार सय जेष्ठ नागरिकलाई घरमै पुगेर स्वास्थ्य सेवा प्रदान गर्न कार्यक्रम गर्न लागेको स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख बरिष्ठ जनस्वास्थ्य प्रशासक डा. राजेन्द्रकुमार गिरीले जानकारी दिनुभयो । हो । स्वास्थ्य कार्यालय पाल्पाले जिल्लाभरका पाँच हजार बढी जेष्ठ नागरिकलाई आधारभूत सेवा प्रदान गर्न प्रदेश सरकारले २७ लाख बजेट विनियोजन जनाएको छ । आव २०७५।०७६ देखि ८४ वर्षमाथिका जेष्ठ नागरिकका लागि घर–घरमै स्वास्थ्य सेवा कार्यक्रम सञ्चालन भएको थियो । अबभने यो कार्यक्रम ७० वर्षमाथिका जेष्ठ नागरिकका लागि सञ्चालन हुनेछ । घरमा साहारा नपाएर आधारभूत स्वास्थ्य सेवाबाट बञ्चित, असाह्य, स्वास्थ्य संस्थाको पहुँचमा नपुगेका जेष्ठ नागरिकका लागि कार्यक्रम प्रभावकारी बन्ने अपेक्षा गरिएको छ । यो कार्यक्रममार्फत स्वास्थ्यकर्मी घरमा पुग्दा जेष्ठ नागरिकलाई स्वस्थ जीवन जीउनका लागि आवश्यक परामर्श र प्रेरणा मिल्ने पाल्पाका प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले बताउनुभयो । प्रजिअ पन्तले नागरिकको स्वास्थ्य सम्बन्धी मौलिक हक कार्यान्वयन गर्न सरकारले यस्तो कार्यक्रम ल्याएकाले त्यसको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो । जेष्ठ नागरिकको घरमा पुगेका स्वास्थ्यकर्मीले आवश्यकता अनुसार आठदेखि १० प्रकारका औषधि वितरण गर्न सक्नेछन् । यस्तै स्थानीय स्वास्थ्य चौकीमा रहेका औषधि वितरण, प्रेसर जाँच, युरिन जाँच, घाउँ तथा चोटपटकको उपचार, आवश्यक परामर्श दिन सक्नेछन् । यस्तै पोष्ट कोभिडबाट पीडित बिरामीलाई पनि उपचारका लागि परामर्श दिइने कार्यक्रम रहेको स्वास्थ्य कार्यालय पाल्पाका स्वास्थ्य निरीक्षक कृष्ण पोखरेलले जानकारी दिनुभयो । आधारभूत स्वास्थ्य सेवा पाउने नागरिकको अधिकार कार्यान्वयन गर्न यो कार्यक्रमले सहयोग पुग्ने जिल्ला समन्वय समितिका कार्यबहाक प्रमुख मिरा मरासिनीले बताउनुभयो । जिल्लामा रहेका सबै जेष्ठ नागरिकले सेवा पाउने गरी कार्यक्रम सञ्चालन गर्नुपर्नेमा प्रमुख मरासिनीले जोड दिनुभयो । कार्यक्रममा नेपाल पत्रकार महासंघ पाल्पा शाखाका अध्यक्ष रेखीराम राना, जेष्ठ नागरिक समाजका सचिव उमानाथ आत्रेयले जेष्ठ नागरिकको स्वास्थ्य अवस्था सुधार गर्नका लागि कार्यक्रम प्रभावकारी बन्ने विस्वास गर्नुभयो । कार्यक्रममा तानसेन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख झविन्द्र न्यौपाने, पूर्वखोला गाउँपालिका स्वास्थ्य शाखा प्रमुख मोहन ढकाल, रैनादेवी छहरा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख जीवन राना, निस्दी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रेमबहादुर दिशा, माथागढी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख केशव जिसी लगायतले कार्यक्रमका बारेमा अनुभव राख्नुभएको थियो ।
प्रकाशित मिति: मंगलबार, पुस १३, २०७८  २१:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update