Erani Mahal
राजधानी नहुँदैमा विकासमा फरक पर्दैन : गृहमन्त्री खाँण
61c6e12c5f777_Balkrishna
गृहमन्त्री बालकृष्ण खाँणले प्रदेश राजधानी नहुँदैमा बुटवलको बिकासमा फरक नपर्ने बताउनुभएको छ । विकासमा बुटवल फड्को मारिसकेको र यो आफ्नै बलबुतामा मात्रै सम्भव भएको भन्दै उहाँले राजधानी नरहने पनि लुम्बिनी प्रदेशको विकासको केन्द्र बुटवल नै हुने बताउनुभयो । गौतमबुद्ध सामुदायिक स्वास्थ्य संस्थाको नवौं बार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनको शनिबार उदघाटन गर्नुहुँदै गृहमन्त्री खाँणले बुटवललाई अहिलेको अवस्थामा ल्याइपुर्याउन सबैको साझा प्रयासले मात्रै सम्भव हुने बताउनुभयो । रुपन्देही बिकासका लागि आफूले धेरै प्रयासहरु गरे पनि जस भने लिन नपाएको उहाँले दुःखेसो पोख्नुभयो । “विकासका लागि मैले धेरै प्रयास गरेको छुँ, तर जस लिन पाएको छैन” उहाँले भन्नुभयो । गृहमन्त्री खाँणले मुलुकले स्वास्थ्य क्षेत्रमा फड्को मारेको, प्रविधिको प्रयोग बढ्दै गएको र स्वास्थ्य क्षेत्रमा नयाँ प्रविधि भित्रिएको भन्दै गरिवीका कारण चुनौती पनि थपिंदै गएको बताउनुभयो । सरकारी अस्पतालको व्यवस्थापन सुधार नहुँदा सर्वसाधारणले निजी अस्पतालमा महङ्गो उपचार सेवा लिनु परिरहेको भन्दै गृहमन्त्री खाँणले सरकारी अस्पतालको क्षमता बिस्तारसँगै स्तरोन्नतिका लागि सरकारले काम गरिरहेको बताउनुभयो । तिलोत्तमा नगरपालिकामा गौतमबुद्ध सामुदायिक अस्पतालका लागि प्रस्ताव गरिएको जग्गा हालसम्म पनि उपलब्ध हुन नसक्नु दुःखद रहेको उल्लेख गर्दै आफुले सरकारकोतर्फबाट जग्गा उपलब्ध गराउन पहल गर्ने विश्वास दिलाउनुभयो । अस्पतालका अध्यक्ष एजाज आलमले सरकारले जग्गा उपलब्ध गराए दुई बर्षभित्र आठ सय बेडको सुबिधा सम्पन्न अस्पताल निर्माण गर्न आफुहरु तयार रहेकाले जतिसक्दो छिटो जग्गा उपलब्ध गराउन गृहमन्त्रीसँग आग्रह गर्नुभयो । रुपन्देही उद्योग संघको संरक्षकत्वमा २०७० साल पुस १० गतेबाट सेवा सञ्चालन गरेको अस्पतालले एकबर्षमा ओपिडी, ईमर्जेन्सी र भर्ना गरी ४८ हजार ७२२ जना बिरामीलाई उपचार सेवा उपलब्ध गराएको छ ।
प्रकाशित मिति: मंगलबार, पुस १३, २०७८  १५:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update