Erani Mahal
रम्भामा मेलमिलाप पुनर्ताजकीय तालिम सम्पन्न
IMG_20211225_105641_1
पाल्पा - रम्भा गाउँपालिकामा मेलमिलापसम्बन्धी पुनर्ताजकीय तालिम शनिवार सम्पन्न भएको छ । रम्भा गाउँपािलकाकाे आयोजना र प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्रको सहजीकरणमा तिन दिवसीय मेलमिलापसम्बन्धी पुनर्ताजकीय तालिम भएकाे हाे । समाजमा हुने विवादहरु मेलमिलापका आधारमा समाधान गर्न सकिएमा मानिसहरुका विच उन्नत सम्बन्ध कायम हुने र दिगो शान्ति स्थापना हुने मान्यताकासाथ मेलमिलाप परिषदको मार्गदर्शनअनुसार मेलमिलापसम्बन्धी आधारभूत तालिम लिइसकेका मेलमिलापकर्ताहरुका लागि पुनर्ताजकीय तालिम सञ्चालन गरिएको हो । प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र, नेपालका कार्यकारी निर्देशक चुप बहादुर थापाको प्रमुख सहजीकरण रहेको तालिममा मेलमिलापको अवधारणा, नेपालमा मेलमिलापसम्बन्धी कानूनी व्यवस्था, मेलमिलापका प्रक्रियागत चरणहरु, मेलमिलाप प्रक्रिया सञ्चालनको भूमिका अभिनय, मेलमिलाप पत्र तयारीजस्ता पक्षमा सैद्धान्तिक, प्रयोगात्मक र अभिनय जस्ता विधिको प्रयोग गरी सहजीकरण गर्नु भएको थियो । तालिम समापन समारोहमा सहभागीहरुलाई प्रमाण–पत्र वितरण गर्दै प्रमुख अतिथि रम्भा गाउँपालिकाका अध्यक्ष विष्णु प्रसाद भण्डारीले मेलमिलापबाट हार–जित नभै विवादित सबै पक्षको जित–जित हुने अवस्था सिर्जना हुने भएकोले भावनात्मक सम्बन्ध विकास हुने बताउनु भयो । उहाँले शान्तिपूर्ण समाज बन्न सक्यो मात्र मानिसहरु उद्यमी र पौरखी बन्न सक्ने र त्यसबाट सुखी र समृद्ध समाज बनाउने अभियान पूरा गर्न सकिने भएकोले गाउँपालिकाले मेलमिलाप कार्यक्रमका लागि महत्व दिएको बताउनु भयो । तालिम समापन कार्यक्रममा केन्द्रका कार्यकारी निर्देशक चुप बहादुर थापा, रम्भा गाउँपालिका वडा नं. २ का वडाध्यक्ष उमान सिं सारु, सहभागी नानुकुमारी गन्धर्वले तालिमबाट भएको सिकाइको समीक्षा गर्नु भयो । रम्भा गाउँपालिकाका २८ जना मेलमिलापकर्ता सहभागी रहेको तालिमको समापन सत्र रम्भा गाउँपालिकाका उपाध्यक्ष एवम् न्यायिक समितिका संयोजक राधा कुमारी श्रेष्ठको अध्यक्षता र केन्द्रका जिल्ला कार्यक्रम संयोजक अम्बीका वश्यालको सञ्चालनमा सम्पन्न भएको थियो ।
प्रकाशित मिति: आइतबार, पुस ११, २०७८  १५:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update