Erani Mahal
ओमिक्रोन त्रास : नौ राष्ट्रबाट नेपाल आउन रोक
Nepalairlines
कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण विश्वका विभिन्न देशमा तीव्र रूपमा फैलिन थालेपछि नेपाल सरकारले नौ राष्ट्रबाट नेपाल आउने नागरिकलाई प्रवेशमा रोक लगाएको छ । सरकारले दक्षिण अफ्रिका, हङकङसहित नौ देशबाट आउने नागरिकलाई नेपाल प्रवेशमा रोक लगाएको हो । सरकारले संक्रमणको जोखिम भएका मुलुकबाट आउने यात्रुलाई अन अराइभल भिसा पनि नदिने निर्णय गरेको छ । मन्त्रिपरिषद् बिहीबार बसेको बैठकले दक्षिण अफ्रिका, बोत्स्वाना, जिम्बाब्बे, नामिबिया, लेसोथो, इसबाटिनी, मोजाम्बिक, मलावी र हकङकबाट आउने यात्रु, ती देशलाई ट्रान्जिट बनाएर आउने र तीन साताभित्र ती मुलुकको भ्रमण गरी आउनेहरूलाई नेपाल प्रवेशमा रोक लगाएको हो । ती मुलुकबाट शुक्रबार राति १२ बजेदेखि नेपाल प्रवेश गर्न रोक लगाइएको हो । तर, हाल ती मुलुकबाट नेपालतर्फ आउँदै गर्दा बाटोमा रहेका यात्रुले प्रवेश अनुमति पाउने भएका छन् तर अनिवार्य क्वारेन्टिनमा बस्नुपर्नेछ । सरकारका अनुसार ती देशमा कोरोना भाइरसको नयाँ भेरियन्ट भेटिएकाले नेपाल प्रवेशमा कडाइ गरिएको हो । सबैभन्दा पहिले ओमिक्रोन भाइरस दक्षिण अफ्रिकामा देखापरेको थियो । त्यसपछि अहिले हङकङ, दक्षिणी छिमेकी राष्ट्र भारतमा समेत नयाँ भेरियन्टको संक्रमण पुष्टि भइसकेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालसम्म नेपालमा सो भेरियन्टको भाइरस देखापरेको पुष्टि नभएको जनाएको छ । मन्त्रालयले नयाँ भाइरसको संक्रमण सर्न नदिन र संक्रमण नफैलियोस् भनेर उच्च सतकर्ता अपनाएको जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर १७, २०७८  १३:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update