Erani Mahal
उर्जा मन्त्री रानाद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारीको घोषणा
1638425574photo_1
पाल्पा – लुम्बिनी प्रदेश सरकारका उर्जा जलश्रोत तथा सिचाई मन्त्री एवं नेपाली काँग्रेसका नेता वीरबहादुर रानाले नेपाली काँग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गर्नुभएको छ । उम्मेदवारी घोषणा गरेको रानाले जनजातितर्फ खुला सदस्यमा उम्मेदवारी दिने बताउनुभयाे । नेपाली काँग्रेस पाल्पाले तानसेनमा पत्रकार सम्मेलन गरी आगामी १४ औ महाधिवेशनमा जनजातितर्फकाे केन्द्रीय सदस्यमा नेता रानालाई अगाडि सार्ने जनाएकाे छ । लुम्बिनी प्रदेशको विकास पद्धतिलाई लयगत रुपमा लैजान, जिल्लाको विकासलाई प्रभावकारी बनाउन, पार्टीपद्धति संस्कारयुक्त बनाउन, पार्टीभित्र देखिएको वितृष्णा हटाउन र नेतालाइ दल र जनताप्रति उत्तरदायी बनाउन आफूले उम्मेदवारी दिन लागेकाे रानाले बताउनुभयो । रानाले केही वर्ष अझै सक्रिय राजनीतिमार्फत देश र जनताको सेवा गर्ने भावना रहेकोले, जिल्ला र केन्द्रको नेतृत्व वर्गको छलफल र सल्लाहमा केन्द्रीय सदस्यको लागि उम्मेदवारी दिने घाेषणा गरिएकाे बताउनुभयो । नव निर्वाचित नेपाली काँग्रेस पाल्पाका जिल्ला सभापती हिमालदत्त श्रेष्ठले निवर्तमान पार्टी सभापति एवं प्रदेश मन्त्री रानालाई अत्याधिक मतबाट जिताउने गरी जिल्लाको सम्पूर्ण टीम खट्ने बताउनुभयो । पार्टी उपसभापति झपेन्द्र गहिरेले उम्मेदवार रानालाई जिताउन, आवश्यकता अनुसार देशभरीका साथीहरुलाई परिचालन गरिएकाले जित सुनिश्चित रहेको बताउनुभयो । उम्मेदवार घोषणा कार्यक्रम पार्टी सचिव सुनिता अधिकारीको सञ्चालन गर्नुभएको थियो ।
प्रकाशित मिति: बिहीबार, मंसिर १६, २०७८  १३:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update