Erani Mahal
काँग्रेस गुल्मीमा खिलध्वज पन्थीको नेतृत्वमा बन्याे यस्ताे टिम !
gulmi_congress
गुल्मी- नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत गुल्मी जिल्लाको अधिवेशनले खिलध्वज पन्थीको सभापतित्वमा नयाँ नेतृत्व पाएको छ । अधिवेशनले जिल्लाको सिंगो पार्टीलाई हाक्ने युवा नेतृत्व दिएको छ । सभापतिमा निर्वाचित युवा नेता पन्थीले भारी मतसहित जिल्लाको नेतृत्व हात पार्नुभएकाे छ । उहाँले खसेको कुल मत मध्ये एक हजार २ सय ७१ मत ल्याएर सभापतिमा विजयी हासिल गर्नुभएकाे हाे । उहाँका प्रतिस्पर्धी बेदबहादुर थापा मगरले ३ सय ८४ मत ल्याएर पराजित हुनुभएकाे छ । जिल्लामा दुई प्यानल बनाएर निर्वाचनमा होमिएका थिए । विजयी पन्थी रामचन्द्र पौडेल पक्षका हुनुहुन्छ भने पराजित थापा देउवा पक्षका हुनुहुन्छ । पन्थी यसअघि जिल्ला कार्यसमिति सचिव थिए । थापा भने महाधिवेशन प्रतिनिधि हुन् । शनिबार र आइतबार सभापतिसहित जिल्ला कार्यसमितिका लागि मतदान भएको थियो । त्यस्तै दुई जना जिल्ला उपसभापतिका लागि तीन जनाबीच प्रतिस्पर्धा भएको थियो । जसमा पन्थी पक्षका अनन्तराम पौडेलले एक हजार १ सय ८७ र शिवबहादुर खत्रीले एक हजार ३३ मत ल्याएर निर्वाचित हुनुभएकाे छ । झविन्द्र विश्वकर्माले ५ सय ८ मत ल्याएर पराजित हुनुभएकाे छ । त्यस्तै दुई जना जिल्ला सचिव पदका लागि पाँच जनाबीच प्रतिस्पर्धा भएको थियो । जसमा जगदीश भट्टराईले ९ सय ९१ र भगतसिंह खड्काले एक हजार २२ मत ल्याएर निर्वाचित भएका हुनुभएकाे छ । सचिवमा निर्वाचित भट्टराई लामो समयदेखि पत्रकारिता र राजनीतिक क्षेत्रमा क्रियाशिल रहँदै आएका युवा नेता हुनुहुन्छ । खड्का पनि लामो समयदेखि नेपाली काँग्रेसको राजनीतिमा सक्रिय र जुझारू नेता रहनुभएकाे छ । सचिव पदमा प्रतिस्पर्धा गरेका थम्मनबहादुर खत्रीले ४ सय १५, पूर्ण केसीले ३ सय ४६ र पृथ्वीबहादुर फौजदारले १ सय ८० मत ल्याएर पराजित हुनुभएकाे हाे । त्यस्तै दुई जना जिल्ला सह–सचिव पदका लागि चार जना बीच प्रतिस्पर्धा भएको थियो । जसमा छविलाल पाण्डेले एक हजार १ सय ३३ मत र धर्मराज पाण्डेले ८ सय ५० मत ल्याएर निर्वाचित हुनुभएकाे हाे । उहाँहरुका प्रतिद्वन्दी निरोज मरासिनीले ३ सय ६२ र रेशम कुँवरले ५ सय ८१ मत ल्याएर पाराजित हुनुभयाे । सदस्यहरुमा कृष्ण प्रसाद पोखरेल (७९५), धिरेन्द्र केसी (७००), पदम बहादुर बिष्ट (८६३), लिलाधर आचार्य (७६५) र लोकप्रसाद खरेल (७८७) मत सहित निर्वाचित हुनुभएकाे छ । महाधिवेशनका लागि एक हजार ७ सय ६१ जना प्रतिनिधि रहेका थिए । त्यसमध्ये एक हजार ६ सय ९३ मत खसेको थियो ।
प्रकाशित मिति: मंगलबार, मंसिर १४, २०७८  १८:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update