Erani Mahal
पाल्पामा मङ्सिर १७ गतेदेखि मतदाता नामावली संकलन गरिने
nmn
पाल्पा – जिल्ला निर्वाचन कार्यालय पाल्पाले आगामी मंसीर १७ गतेदेखि जिल्लाभर मतदाता नामावली संकलन अभियान संचालन गर्ने भएको छ । निर्वाचन कार्यालय पाल्पाले जिल्लाभर मंसीर १७ देखि २६ गतेसम्म पहिलो चरणमा र मंसीर २८ देखि पुस ८ गतेसम्म दोस्रो चरणमा मतदाता नामावली संकलन गर्ने जनाएको छ । जिल्ला निर्वाचन अधिकारी रुक्मागत अर्यालले पहिलो चरणमा रामपुर नगरपालिका, पूर्वखोला, माथागढी, रिब्दीकोट र रैनादेवी छहरा गाउँपालिकामा मतदाता नामावली संकलन गरिने जानकारी दिनुभयो । आफ्नो पालिकाको केन्द्रमा नागरिकताको प्रमाणपत्रको प्रतिलिपी लिएर मतदाता नामावलीमा मतदाताले विवरण भर्न सक्ने उहाँले बताउनुभयो । यस्तै बसाईसराईको कागजपत्र र विवाहदर्ताको प्रमाणपत्रको आधारमा पनि मतदाता नामावली अद्यावधिक गर्न सकिनेछ । यस्तै दोस्रो चरणमा निस्दी, रम्भा, तिनाउ र बगनासकाली गाउँपालिकामा मतदाता नामावली संकलन हुनेछ । दोस्रो चरणको मतदाता नामावली संकलनको कार्य मंसीर २८ देखि पुस ८ गतेसम्म हुने जिल्ला निर्वाचन कार्यालय पाल्पाले जनाएको छ । तानसेन नगरपालिकाभित्र बसोबास गरेका नागरिकले भने जिल्ला निर्वाचन कार्यालय गएर मतदाता नामावलीमा विवरण भर्नुपर्नेछ । कार्यालयका अनुसार नयाँ मतदाता नामावली विवरण मात्र अभियानका क्रममा संकलन गरिनेछ । नामावलीमा नाम, थर, ठेगाना, भएका त्रुटी सच्याउन जिल्ला निर्वाचन कार्यालय पाल्पामा जानुपर्नेछ । छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न यसैबीच जिल्लास्थित सरोकारवाला निकाय, राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधि, पत्रकार, सामाजिक संघसंस्थाका प्रतिनिधिहरुका बीचमा मतदाता नामावली संकलनका सम्बन्धमा छलफल तथा अन्तरक्रिया भएको छ । आइतबार तानसेनमा आयोजित छलफल कार्यक्रममा पाल्पाका प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले हरेक नागरिकको मताधिकारलाई सुरक्षित बनाउन मतदाता नामावलीमा विवरण भर्न आवश्यक रहेकोमा जोड दिनुभयो । प्रजिअ पन्तले नेपालको संविधानमा व्यवस्था भएबमोजिम मतदाता संकलन विवरण टोलिलाई सहयोग गर्न सबैलाई आग्रह गर्नुभयो । कार्यक्रममा सहभागीहरुले जिल्लाभित्रका मतदाताले पायक पर्ने स्थानमा नामावली संकलन गर्न पाउने व्यवस्था गर्न सुझाव दिएका थिए ।
प्रकाशित मिति: आइतबार, मंसिर १२, २०७८  १९:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update