Erani Mahal
श्रीनगरमा आन्तरिक पर्यटकको चहलपहल
261635751_583668112724783_3382258359087614637_n
सुमन गाहा, पाल्पा– कोरोना महामारीपछि पर्यटकीय गन्तव्यको सूचीमा पर्ने पाल्पाको श्रीनगरडाँडा यतिबेला घुम्न आउने र वनभोजको लागि आउने संख्यामा वृद्धि भएको छ । आन्तरिक पर्यटकका लागि गतिलो गन्तव्यका रुपमा परिचित श्रीनगरडाँडा यतिबेला वनभोज गर्नेहरूको चहलपहल बढेको हो । उक्त डाँडोको हरियाली, स्वच्छ हावा तथा मनोरम प्राकृतिक सुन्दरताले सबैलाई आकर्षित बनाएकाले वनभोज र घुम्नेहरूको आकर्षण बढेको हो । दैनिक १० देखि २० समूहले यहाँ वनभोज गर्दै आएका छन् । वनभोजपछि श्रीनगर घुमफिर गर्न आन्तरिक पर्यटक रुचाउँछन् । सार्वजनिक बिदाका बेला वनभोजका लागि जिल्लाका ग्रामीण क्षेत्रका बासिन्दाको पनि आगमन बढेको छ । छिमेकी जिल्ला रुपन्देही, स्याङजा, गुल्मी, नवलपरासी, कपिलवस्तु र अर्घाखाची जिल्लाका विद्यालय, सहकारी, टोलविकास समिति, सामुदायिक वन, सरकारी कर्मचारी शनिबार बिदामा श्रीनगरडाँडामा वनभोजका लागि आउने गर्छन् । सफा मौसम भएका बेला श्रीनगरको भ्यू टावरबाट माछापुच्छे, धौलागिरि, अन्नपूर्ण, तानसेन बजार, माडीफाँट, बगनासकालीलगायत सुन्दर दृश्य अवलोकन गर्न सकिन्छ । श्रीनगरमा दृष्य अवलोकन स्तम्भ, हनुमानको मूर्ति र बौद्ध स्तुप, बालबालिका लागि बाल पार्कले सबैलाई मोहित बनाउँछ । पाल्पाको माथागढी गाउँपालिका– ४ झडेवाबाट शनिबारको दिन श्रीनगर घुम्न आउनुभएको भिम थापाले आफूलाई श्रीनगरडाँडा सुन्दर लागेको बताउनुभयो । उहाँले श्रीनगरडाँडामा अझै भौतिक विकास गर्न सके थप पर्यटकीय गन्तव्यका रुपमा विकास हुने उल्लेख गर्नुभयो । पाल्पाको शीतल हावापानी र ऐतिहासिक सम्पदाले आन्तरिक पर्यटकका लागि मन लोभ्याउने क्षेत्र प्रशस्त छन् ।
प्रकाशित मिति: आइतबार, मंसिर १२, २०७८  १४:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update