Erani Mahal
कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनका दुई त्रास
Corona___
अहिले संसारभरि कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको चर्चा भइरहेको छ । धेरै मुलुकले खोप लगाउन थालेको र यसअघि निकै संक्रामक मानिएको डेल्टा भेरियन्टको संक्रमण कम हुँदै गएर जनजीवन सामान्य बन्न लागेका बेला भेटिएको ओमिक्रोनले विभिन्न मुलुकमा त्रास सिर्जना गरेको छ । ओमिक्रोन भेरियन्ट गत साता दक्षिण अफ्रिकामा फेला परेको हो । दक्षिण अफ्रिकाको गाउटेङ प्रान्तमा संक्रमितहरू धेरै भेटिएपछि अधिकारीहरूले नयाँ भेरियन्टका बारेमा थाहा पाएका हुन् । अहिले युरोपका बेलायत, जर्मनी, इटाली, चेक रिपब्लिकसहित विभिन्न मुलुकमा यो भेरियन्टका संक्रमित भेटिएका छन् । द इकोनोमिस्टका अनुसार ओमिक्रोन भेरियन्टले दुइटा त्रास सिर्जना गरेको छ । पहिलो, यो भेरियन्ट डेल्टाभन्दा पनि निकै संक्रामक हुन सक्ने वैज्ञानिकहरूले बताएका छन् । यसको संक्रमणको गति कति हो भन्नेबारे विस्तृत अध्ययन हुन बाँकी छ तर यो निकै संक्रामक रहेको वैज्ञानिकहरूको निष्कर्ष छ । सुरूमा भारतमा देखिएको डेल्टा भेरियन्ट त्यसअघिका अरू भेरियन्टभन्दा निकै संक्रामक थियो । देखिएको केही दिनमै यो संसारभरि फैलिएको थियो । अहिले भेटिने अधिकांश संक्रमितमा डेल्टा भेरियन्ट हुन्छ । डेल्टाभन्दा ओमिक्रोन झन् संक्रामक भए यसले फेरि विश्वभरि एकैसाथ संक्रमण बढाउन सक्ने देखिएको छ । डेल्टा भेरियन्ट पत्ता लाग्दासम्म यो संसारभरि फैलिइसकेको थियो। ओमिक्रोन भने सुरूमै पत्ता लागेको हुन सक्ने स्वास्थ्य अधिकारीहरूले विश्वास गरेका छन् । दोस्रो, अहिले प्रयोगमा आइरहेका कोरोनाविरूद्धका भ्याक्सिनहरूले ओमिक्रोन भेरियन्टविरूद्ध प्रभावकारी ढंगले काम गर्न सक्दैनन् कि भन्ने डर छ । ओमिक्रोनविरूद्ध अहिलेका भ्याक्सिनहरूले कति काम गर्न सक्छन् भन्ने विस्तृत अध्ययन हुन बाँकी छ । भ्याक्सिन निर्माता कम्पनी फाइजर र बायोएन्डटेकले ६ साताभित्र नयाँ भेरियन्टविरूद्धको प्रभावकारी खोप बनाउन सक्ने र एक सयदिनभित्र पहिलोमात्र डेलिभरी गर्न सक्ने बताएको छ । त्रासका बीचमा अहिले विभिन्न मुलुकले दक्षिण अफ्रिका र आसपासका मुलुकबाट हुने उडान बन्द गरेका छन् । अमेरिका, बेलायत, अष्ट्रेलिया र युरोपेली युनियनअन्तर्गतका मुलुकले दक्षिण अफ्रिका, नामिबिया, जिम्बाबे, बोत्स्वाना, अंगोला, मालावी, जाम्बिया, लेसेथोबाट हुने उडान बन्द गरेका छन् । भारतले पनि दक्षिण अफ्रिका, बोत्स्वाना र हङकङबाट आउने यात्रुको राम्ररी परीक्षण गर्न निर्देशन दिएको छ । इजरायलले आइतबारदेखि लागु हुने गरी सबै विदेशीको आगमनमा प्रतिबन्ध लगाइदिएको छ । प्रधानमन्त्री नाफ्टाली बेनेटले यो प्रतिबन्ध १४ दिनसम्म रहने बताएका छन् ।
प्रकाशित मिति: आइतबार, मंसिर १२, २०७८  १२:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update