Erani Mahal
नेपालमा थ्रीजीभन्दा फोरजी प्रयोगकर्ता बढी
61a2dda9efb10_Untitled-1
सुरु भएको पाँच वर्षपछि पहिलो पटक फोरजी प्रयोगकर्ताको हिस्सा थ्रीजीभन्दा बढी भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको असोजसम्मको तथ्याङ्कअनुसार देशभर एक करोड २८ लाख ६० हजार फोरजी प्रयोगकर्ता छन् जब कि थ्रीजी प्रयोगकर्ता एक करोड २५ लाख ८७ हजार रहेका छन् । यस हिसाबले थ्रीजीको तुलनामा फोरजी प्रयोगकर्ताको सङ्ख्या साढे दुई लाखभन्दा बढी छ । नेपालमा २०७३ पुस १७ गते फोरजीको सुरुवात भएको थियो । सेवा प्रदायकले फोरजी पूर्वाधार विस्तारलाई दिएको प्राथमिकता र थ्रीजीमा थप लगानी गर्न छाड्दा फोरजी प्रयोगकर्ताको हिस्सा बढेको देखिन्छ । फोरजी विस्तारमा मात्र मुख्य दुई सेवा प्रदायक नेपाल टेलिकम र एनसेलले मात्र ३० अर्ब रुपियाँभन्दा बढी लगानी गरिसकेका छन् । त्यस्तै अर्को सेवा प्रदायक स्मार्ट टेलिकमले फोरजी प्रविधिमा मात्र लगानी गरेको छ । तथ्याङ्कअनुसार थ्रीजी र फोरजी दुवैमा नेपाल टेलिकमका प्रयोगकर्ता धेरै छन् । एक करोड तीन लाखले टेलिकमको थ्रीजी प्रयोग गर्छन् । त्यस्तै ६६ लाख ३४ हजारले फोरजी प्रयोग गर्ने तथ्याङ्कमा उल्लेख छ । एनसेलका ६० लाख फोरजी प्रयोगकर्ता छन् भने २२ लाख ८४ हजारले थ्रीजी प्रयोग गरिरहेका छन् । त्यस्तै स्मार्ट टेलिकमका एक लाख ६७ हजार फोरजी प्रयोगकर्ता छन् । थ्रीजीको तुलनामा फोरजी प्रविधिमा उच्च गतिको इन्टरनेट प्रयोग गर्न सकिन्छ । फोरजीमा अधिकतम चार सय एमबीपीएससम्मको डाउनलोड गति हुन्छ । यद्यपि यस्तो गति देशअनुसार फरक हुने गर्छ । त्यस्तै थ्रीजीमा औसतमा २० एमबीपीएससम्मको अधिकतम डाउनलोड गति हुन्छ ।
प्रकाशित मिति: आइतबार, मंसिर १२, २०७८  ११:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update