X
395
Shares

कांग्रेस पाल्पाकाे सभापति काे बन्ला ?

रानीमहल संवाददाता || १० मंसिर २०७८,शुक्रबार २०:११

पाल्पा – नेपाली कांग्रेसको जिल्ला सभापति सहितका पदका लागि निर्वाचन भईरहेको छ । वडाबाट छनौट भएका १ हजार तीन सय बढी मतदाताले शुक्रबार दिउँशोदेखि मतदान गरिरहेका छन् । र मतदानको क्रम राति अबेर १० बजे वरपर मात्र सकिने सम्भावना छ । नेतृत्वका लागि सहमतिको प्रयास गरिएपनि सहमति हुन नसकेपछि चुनाव भएको हो ।

सभापतिका लागि पौडेल समूहबाट कृष्णप्रसाद बस्याल र हिमालदत्त श्रेष्ठ चुनावी मैदानमा हुनुहुन्छ । बस्याल जनप्रतिनिधि भएर काम गरिसक्नुभएकाले जनतामाझ लोकप्रिय हुनुहुन्छ भने श्रेष्ठलाई कांग्रेसी युवाको साथ छ । संस्थापनइतर (पौडेल) पक्षको मत बाँडिने भएकाले अर्को पक्ष (देउवा) ले साथ दिनेको पल्ला भारी हुनेसम्भावना पनि छ ।

जिल्लामा देउवा पक्षका प्रतिनिधिको निर्णायक मत रहेको दावी गरिएको छ । तर जिल्लामा केही वर्षयता एक्लौटीजस्तो प्रभाव जमाउनुभएका हालसम्मका सभापति वीरबहादुर रानाको साथ श्रेष्ठलाई छ भन्ने हल्ला पनि छ । यदि श्रेष्ठलाई सभापति रानाको साथ हो भने बस्यालको पक्षमा मतपरिणाम आउन गाह्रो हुने अनुमान गरिएको छ ।

नेपाली कांग्रेसमा अहिले पनि पाका पुस्ताको बर्चश्व नै छ । त्यसकारण हिमालदत्त श्रेष्ठ सभापतिका लागि होइन, यो पटक सचिवसम्म बन्दा ठीक भन्ने मत पनि छ । यो मत ४० काटेका कांग्रेसका नेता कार्यकर्ताहरुमा छ । तर ४० भन्दा कम उमेर समूहका युवामा भने श्रेष्ठ सभापतिका लागि उपयुक्त रहेको बुझाई छ ।

सामाजिक रुपमा बस्याल र श्रेष्ठको छवि सरल र मिजासिलो नेताको रुपमा स्थापित छ । दुबैजना कार्यकर्ताको मनोभावना अनुसार परिचालित हुनसक्ने र सहयोगी भावना रहेको कार्यकर्ताको बुझाई छ । तर बस्याललाई रियल स्टेट कारोबारी र श्रेष्ठलाई जिल्लामा नबस्ने, धेरै विदेशतिर बस्ने भनेर आरोप लाग्ने गरेको एक कांग्रेस कार्यकर्ता बताउँछन् ।

कार्यकर्ताको विभिन्न मत र बुझाईका बीच नेतृत्व चयनका लागि चुनावी प्रक्रिया भएकाले मत परिणाममा जाति, क्षेत्र, भुगोलको पनि प्रभाव हुने आँकलन गरिएको छ । त्यसकारण अहिले नै कसको पक्षमा मत परिणाम आउछ र कसले सभापति बन्ने अवसर पाउँछ त्यसै भन्न सकिदैन । त्यसका लागि आइतबारसम्म मतपरिणाम नै कुर्नुपर्ने हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys