Erani Mahal
पाल्पामा कांग्रेसकाे महाधिवेशन : गुटगत राजनीति हावी !
ff
पाल्पा – नेपाली कांग्रेसको महाधिवेशनमा गुटगत हस्तक्षेप बढेको छ । १४ औँ महाधिवेशनका लागि वडा, पालिका, निर्वाचन क्षेत्र स्तरीय अधिवेशनमा चरम गुटबन्दी भएको हो । कांग्रेसको केन्द्रदेखि नै नेताहरु गुटउपगुटमा विभाजित छन् । त्यसको प्रत्यक्ष असर पाल्पाको अधिवेशनमा समेत परेको छ । १४ औँ महाधिवेशनको पूर्वसन्ध्यामा पाल्पामा वडा, पालिका, प्रदेश र निर्वाचन सहित महाधिवेशन प्रतिनिधि चयन प्रक्रिया सकिएको छ । यस अबधिमा पाल्पामा एउटा गुटले अर्को गुटलाई सिध्याउनेसम्मको खेल भएको छ । पाल्पामा कांग्रेसभित्र देउवाको संस्थापन गुट पत्तासाफ भएको छ । पाल्पाको पालिका, वडा, प्रदेश, निर्वाचन क्षेत्र र महाधिवेशन छनौट प्रक्रियामा कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरका नेताहरुले कांग्रेस पाल्पा कब्जा गरेका छन् । खासगरि कांग्रेसको संस्थापनइतर समूहको नेतृत्व पार्टी सभापति, लुम्विनी प्रदेशका मन्त्री वीरबहादुर रानाले गर्नुभएको छ । उहाँलगायतको समूहले संस्थापन समूहका महाधिवेशन प्रतिनिधि, प्रदेश महाधिवेशन प्रतिनिधि र निर्वाचन क्षेत्र स्तरीय समितिमा दबदबा कायम गरेको छ । पाल्पामा संस्थापन समूहको नेतृत्व गरिरहनुभएका पूर्वसांसद एवं कांग्रेसका केन्द्रीय सदस्य हरिप्रसाद नेपाल लगायतको समूहले भने पराजय बेहोरेको छ । जिल्लाको क्षेत्र नं. २ मा दुई समूहको प्यानल नै बनेको थियो । गुटका नेतालाई जिताउन समूहको चिट वितरण भएको थियो । स्रोतका अनुसार भोज र पाटी समेत भएको थियो । स्रोतका अनुसार क्षेत्र नं. २ मा सबै र क्षेत्र नं. १ मा दुई जना बाहेक सबै महाधिवेशन प्रतिनिधि संस्थापन इतर समूहले विजय प्राप्त गरेको कांग्रेस स्रोतले जनाएको छ । क्षेत्र नं. १ मा निर्वाचन स्तरीय समितिमा समेत अधिकांश संस्थापन इतर समूहको हावी छ । पाल्पाको क्षेत्र नं. २ मा पनि संस्थापन इतर समूहले संस्थापन समूहलाई क्लीन स्वीप गरेको छ । स्रोतका अनुसार क्षेत्र नं. २ बाट संस्थापन देउवा समूहका कोही पनि महाधिवेशन प्रतिनिधि र निर्वाचन स्तरीय समितिमा निर्वाचित भएनन् । गुटगत राजनीतिले पार्टीभित्र आफ्नो समूह वा नेतालाई स्थापित गर्न सहयोग पुग्ने भएपनि चुनावका बेलामा भने नेता र पार्टीलाई नै घाटा हुने गुटमा नलागेका कार्यकर्ताको चिन्ता छ । कसैले भने यसलाई स्वभाविक मान्छन्, पार्टीभित्रको आन्तरिक लोकतन्त्र बलियो बनाउन मतविभाजन र विचार समूहले सहयोग पुग्ने उनीहरुको भनाई छ । तर पार्टीभित्रै अन्तरपार्टीको भन्दा बढी संघर्ष र अराजकता निम्त्याउने सम्भावना भने गुटगत राजनीतिले सहयोग पु¥याएको हुन्छ । अब आगामी मंसीर १० गते जिल्लाको अधिवेशन हुँदैछ । त्यसमा समेत गुटगत राजनीति नै हावी हुने पक्कापक्की छ । यद्यपी हालसम्मको अवस्थाले एउटा गुटको मात्र हावी भएकाले नेतृत्व चयनमा सहज हुने सम्भावना पनि छ । तर संस्थापन इतर समूहबाटै बढी आकांक्षी भएको खण्डमा भने के हुन्छ अहिले नै भन्न सकिदैन ।
प्रकाशित मिति: मंगलबार, मंसिर ७, २०७८  २०:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update