Erani Mahal
विरुवा बेचेर २४ वर्षदेखि गुजारा चलाउँदै रामपुरका गाेविन्द दुवाडी !
govinda
पाल्पा- रामपुर नगरपालिका–३ गण्डकी ढिक बस्ने ६० वर्षीय गोविन्दप्रसाद दुवाडीले दुई दशक बढीको समय बिरुवा उत्पादनमा बिताउनुभयो । उमेर ढल्कदै जाँदा उहाँलाई यो व्यवसायबाट टाढा रहन पटक्कै मन छैन । विसं २०५५ देखि दुवाडीले निरन्तररुपमा आजसम्म बिरुवा उत्पादन गरिरहनुभएको छ । उहाँ करिब एक रोपनी जग्गामा हरेक वर्ष प्याज, काउली, बन्दा, गोलभेँडाका बिरुवा उत्पादन गर्नुहुन्छ । उहाँ भन्नुहुन्छ, “तरकारीका बिरुवा उत्पादन गरेको २४ वर्ष भइसकेछ, समय गएको पत्तो भएन, ग्राहकलाई बिरुवा बिक्री गर्दैमा दिन बितिरहेछ, समय बिताउने माध्यम र आयआर्जन गर्ने बाटो बनेको छ ।” उहाँले गत वर्ष मात्रै बिरुवा बेचेर रु दुई लाखसम्म आम्दानी लिनुभयो । यस वर्ष पनि सोही बराबरको आम्दानी हुने उहाँको अनुमान छ । आफूले निरन्तर यो व्यवसाय गर्दै आए पनि अहिलेसम्म कहीँकतैबाट सहयोग भने नपाएको उहाँ गुनासो गर्नुहुन्छ । “विशेषगरी धान बालीको उत्पादन सकिएपछि मङ्सिर पुसलाई लक्षित गरी नियमितरुपमा २४ वर्षअघिदेखि बिरुवा उत्पादन गरिराखेको छु, यसले समाजमा राम्रो पहिचान बनेको छ, दाम पनि राम्रै हात परेको हुँदा खुसी छु”, उहाँले भन्नुभयो । कुनै पनि तालिम नलिइ दुवाडीले काम गर्दै जाने क्रममा धेरै ज्ञान सीप अनुभव बटुल्दै व्यवसाय धान्नुभएको छ । यस व्यवसायमा उहाँलाई श्रीमती मतिकलाले पनि सघाउनुभएको छ । अहिले दुवाडी दम्पतीको दैनिकी बिरुवाको रेखदेख र बिक्रीमै बित्ने गरेको छ । बिरुवा उत्पादन हुनुभन्दा अघिदेखि नै विभिन्न स्थानबाट माग आउने गरेको मतिकला बताउनुहुन्छ । यहाँ प्याज रु दुईका पाँच वटा बिरुवा धमाधम बिक्री भइरहेका छन् । कृषक दुवाडीले पाल्पासहित काठमाडौँ, सिन्धुपाल्चोक, पोखरा, नारायणघाट, तनहुँ, स्याङ्जा, नवलपुरलगायत विभिन्न स्थानमा ग्राहकको मागअनुसार बिरुवा पठाउनुहुन्छ । रामपुरको बिरुवा राम्रो हुने थाहा पाएपछि यस वर्ष स्याङ्जाको गल्याङ नगरपालिका– ११ बस्ने सूर्य अधिकारी पहिलो पटक बिरुवा खरिद गर्न आउनुभएको छ । उहाँ भन्नुहुन्छ, “रामपुरको प्याजको बिरुवा राम्रो हुने भन्ने छिमेकी सबैले कुरा गरेको सुनेपछि म पनि पहिलो पटक यहाँ आएर बिरुवा खरिद गरेको छु, बिरुवा हेर्दा असाध्यै राम्रो देखेपछि आफूलाई मात्र नभई छिमेकी तथा आफन्तलाई पनि खरिद गरिदिएको छु ।” यस्तै रामपुरकै रोजी खातुन पनि यहीँको नर्सरीमा उत्पादन भएको बिरुवा खरिद गरेर लगाउनुहुन्छ । उत्पादन राम्रो हुने भएकाले प्याज, काउली, बन्दाका बिरुवा खरिद गरेर लगाउने गरेको उहाँ बताउनुहुन्छ । “उत्पादन धेरै राम्रो हुन्छ, फल लागेन भन्नु पर्दैन, उन्नत जातको आफूले खोजेजस्तो बिरुवा पाइने हँुदा यहीँबाटै बिरुवा खरिद गरी घरमा लगाउने गरेको छु”, उहाँले भन्नुभयो । रासस
प्रकाशित मिति: सोमबार, मंसिर ६, २०७८  १७:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update