Erani Mahal
परिणाम देखिने गरी काम गर्छौँ : मुख्यमन्त्री केसी
IMG_0878
पाल्पा – लुम्विनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसीले सरकारले प्रभावकारी ढङ्गले बजेट कार्यान्वयन गरेर जनताको आकांक्षा पूरा गर्ने बताउनुभएको छ । प्रदेश सरकारले ल्याएको बजेटलाई प्रभावकारी कार्यान्वयन गरेर परिणाम देखिने गरी काम गरिने मुख्यमन्त्री केसीले दावी गर्नुभयो । नेपाल पत्रकार महासङ्घ पाल्पा शाखाले शनिबार तानसेनमा गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्नुहुँदै उहाँले चारदेखि छ महिनामा बजेटलाई प्रभावकारी कार्यान्वयन गर्ने योजना सुनाउनुभयो । ‘बजेट खर्चका नाममा खर्च मात्र होइन, बजेटबाट परिणाम देखिने गरी काम अघि बढेको छ’ उहाँले भन्नुभयो । प्रदेश सरकारले अध्यादेशबाट ल्याएको बजेटलाई परिमार्जन गरेर वर्तमान सरकारले जनताको आवश्यकतामा आधारमा बजेट बनाएको बताउनुभयो । मुख्यमन्त्री केसीले प्रदेश सरकारले विपद्बाट क्षति पु¥याएका किसानलाई क्षतिपूर्ति दिने र बाढी पहिरोबाट प्रभावित जनतालाई राहत दिने विशेष योजना ल्याएर सम्बोधन गर्ने जानकारी दिनुभयो । मन्त्री केसीले कोरोनाबाट प्रभावित विद्यालय क्षेत्रलाई नियमित सञ्चालन गर्न बालबालिकाका लागि आवश्यक खोपका लागि सरकारले पहल गरिरहेको बताउनुभयो । केन्द्र सरकारसँग समन्वय गरेर खोप ल्याउँछौ, त्यो नभए प्रदेश सरकार आफैँ अघि सरेर खोप ल्याउने योजना छ, मुख्यमन्त्री केसीले भन्नुभयो । विपक्षी दलले संसद्मा गरेको अबरोधका विषयमा मुख्यमन्त्री केसीले असान्दर्भिक र लोकतन्त्र बिरोधी कार्य भएको बताउनुभएको छ । उहाँले संसद् विपक्षीले आफ्नो मत राख्ने स्थल भएपनि आफैँले संसद् अबरोध गरेर गैरलोकतान्त्रिक चरित्र देखाएको आरोप लगाउनुभयो । एमालेले आफूलाई लोकतान्त्रिक पार्टी भनेपनि संसद्मा लगातार गरेको अबरोधले उसको भनाइ र गराइमा तादाम्यता नमिलेको मुख्यमन्त्री केसीको भनाई छ । उहाँले लोकतन्त्र मान्छु भन्ने पार्टीले समीक्षा गरेर छिट्टै संसद्को अबरोध गर्नबाट पछि हट्नेमा विस्वास गर्नुभयो । सरकार आलोपालो चलाउने विषयमा पत्रकारहरूले राखेको जिज्ञासामा मुख्यमन्त्री केसीले गठबन्धनको सहकार्यमा सरकार चलाउने विषय सहमति भएपनि समयाबधिको विषयमा छलफल नभएको जिकिर गर्नुभयो । पाँच दलीय गठबन्धनको सरकार सहमतिमा सञ्चालन गर्ने भन्ने सहमति भएको हो, उहाँले भन्नुभयो कसरी कसले कति समय चलाउने भन्ने विषय तोकिएको छैन मुख्यमन्त्री केसीले भन्नुभयो । पत्रकार सम्मेलन संघका अध्यक्ष रेखीराम रानाको अध्यक्षता, उपाध्यक्ष भरत शर्माको स्वागत र सचिव यज्ञमूर्ति तिमिल्सिनाको संचालनमा सम्पन्न भएको थियो ।
प्रकाशित मिति: शनिबार, मंसिर ४, २०७८  २०:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update